७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रशिक्षक प्रदीपले वेस्टह्याममा कोर्स गर्ने

नेपालब्रिटेन डट कम्
१३ माघ २०७४, शनिबार १२:११

काठमाडौं । थ्री स्टार क्लबका पूर्वप्रशिक्षक तथा अमेरिकाको किस्टोन एथ्लेटिकका प्रशिक्षक प्रदीप हुमागाईंले इंग्ल्यान्डको चर्चित क्लब वेस्टह्याम युनाइटेडको अन्तर्राष्ट्रिय एकेडेमी डिप्लोमा कोर्स गर्ने भएका छन् । सो कोर्सको अवसर पाउने हुमागाईं पहिलो नेपाली प्रशिक्षक हुन् । उनको कौशलता र उत्कृष्ट प्रदर्शनका कारण उनलाई छनोट गरिएको क्लबले जनाएको छ । उनी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । खेलकुद विषयमा विश्वविद्यालयमा पढेर प्रशिक्षण पेसामा संलग्न भएका प्रशिक्षक हुमागाईं मैदानको रणनीति बनाउन र खेलाडीको मनोविज्ञानअनुसार काम गर्ने कलामा उत्कृष्ट रहेको बताइन्छ । उनले अहिलेसम्मकै सर्वाधिक अंक ल्याएर ए लाइसेन्स प्राप्त गरेका थिए ।

हुमागाईंले ८ देखि १४ फेब्रुवरीसम्म लन्डनमा हुने डिप्लोमा प्रशिक्षण कोर्स लिनेछन् । हुमागाईं संलग्न क्लब किस्टोन एथ्लेटिकले प्रेस विज्ञप्ति जारी गर्दै प्रदीप हुमागाईं डिप्लोमा कोर्सका लागि छनोट भएकोमा गौरवान्वित भएको बताएका छन् । हुमागाईंको उत्कृष्ट प्रशिक्षण क्षमता र फुटबलमा राम्रो अनुभवका कारण उनको नाम दिएको किस्टोन एथ्लेटिकले जनाएको हो । हुमागाईं फेब्रुवरी ९ मा ‘ओरियन्टेसन’ कार्यक्रममा सहभागी हुनेछन् ।

फ्रेब्रुवरी १०, ११ र १२ तारिखमा प्रदीपले उमेर समूहका खेल निरीक्षण गर्नेछन् । फ्रेब्रुवरी १० मा इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम र वार्टफोर्डविरुद्धको खेलको प्रत्यक्ष अवलोकन गर्नेछन् । खेल हेरेर त्यसको विश्लेषण गर्दै प्रस्तुति गर्नेछन् । प्रिमियर लिग खेलको विश्लेषण गरेर प्रस्तुति गर्ने अवसर सबैले सहजै पाउँदैनन् । यो अवसरलाई सदुपयोग गर्ने हुमागाईंले बताए । ‘नेपाली फुटबलका लागि एउटा अवसर हो । म नेपालको प्रतिनिधित्व गरेर गएको हुँ,’ उनले भने ।

१४ र १५ तारिखमा उनले मूल्यांकन सेसनमा सहभागी भई वेस्टह्यामका एकेडेमी प्रबन्धक टेरी वेस्ट्ली र अन्तर्राष्ट्रिय एकेडेमी प्रशिक्षण निर्देशक पल हेफेरसँग काम गर्नेछन् । उनी १५ तारिखमा अमेरिका फर्किनेछन् । हुमागाईंले तीन वर्षअघि थ्री स्टारलाई लिग उपाधि दिलाउन सफल भएका थिए ।