१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रचण्डलाई सहअध्यक्षमा मनाउने प्रयास

नेपालब्रिटेन डट कम्
१४ माघ २०७४, आईतवार १५:००

काठमाडौं । पार्टी एकताका विषयमा सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छलफललाई तिब्रता दिएका छन् । केही दिनदेखि निरन्तर छलफलमा जुटेका दुई नेताबीच आज पनि दाहाल निवास खुमलटारमा छलफल भयो । नयाँ सरकार गठन र पार्टी एकताबारे दुई नेताबीच सकारात्मक छलफल भएको बैठकपछि नेताहरुले जानकारी दिए ।

दुई नेताबीच पार्टी एकता र नयाँ सरकार गठनबारे थप गृहकार्यपछि पुनः छलफल गर्ने र राष्ट्रिय सभा निर्वाचनमा बामपन्थी उम्मेदवारलाई जिताउन दुवै दलले पहल गर्ने सहमति पनि भएको छ । पार्टी एकतामा सैद्धान्तिक सहमति भएपनि एकीकृत पार्टीको नेतृत्वका विषयमा दुई दलबीच कुरा मिल्न बाँकी छ ।

ओली प्रधानमन्त्री हुँदा माओवादी अध्यक्ष दाहालले एकीकृत पार्टीको अध्यक्ष आफू हुनुपर्ने अडान राख्दै आएका छन् । तर एमाले दाहाललाई सह–अध्यक्षमा मनाउने प्रयासमा छ । सरकार पहिले कि पार्टी एकता पहिले भन्ने विषय पनि छिनोफानो हुन बाँकी छ । माओवादी केन्द्र सरकार गठन पहिले नै पार्टी एकता गर्नुपर्ने पक्षमा छ भने एमालेले सरकार गठनपछि पार्टी एकता गर्नुपर्ने धारणा राख्दै आएको छ ।