८ बैशाख २०८१, शनिबार
Follow Us

प्रश्नपत्र लिग भएको कारण पुस २२को आइएलटिएस परीक्षा रद्द

sarusaru
१५ माघ २०७४, सोमबार ०१:४५

काठमाडौं । ब्रिटिस काउन्सिल र आइडीपीले काठमाडौंमा लिने अंग्रेजी भाषा परीक्षाको प्रश्नपत्र परीक्षाअगावै ‘किनबेच’ भएको प्रमाणित भएको छ ।

यसअघि गत २१ पुसमा प्रहरी परिसर, काठमाडौंले सुन्धारामा प्रश्नपत्र लेनदेन हुँदै गर्दा एक कन्सल्टेन्सीका सञ्चालक र विद्यार्थीसहित १३ जनालाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट २२ पुसमा आईएलटीएस परीक्षाको मिति तोकिएको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार आईएलटीएस परीक्षामा सोधिएका प्रश्न र लाखौं रुपैयाँ लिएर ‘लिक’ गरिएको प्रश्नलाई दाँजिएको छ । र, अधिकांश प्रश्नहरु मिलेका छन् ।

ती प्रहरी अधिकारीका अनुसार आईएलटीएस परीक्षाको प्रश्नमा लिसनिङतर्फ ४० वटा मध्ये ३८ वटा हुबहु मिलेको छ । ‘राइटिङतर्फ हुने दुवै प्रश्न पनि मिलेको पाइयो’, ती अधिकारीले अनलाइनखबरसँग भने, ‘रिडिङ चाहिँ मिलेन ।’

प्रहरीका अनुसार आईएलटीएस परीक्षाको प्रश्नपत्रको तीनवटा खण्डमध्ये दुईवटा खण्डको मिलेपछि २२ पुसमा लिइएको परीक्षा रद्द गर्न प्रहरीले पत्र काटेको छ । र, अदालतमा समेत बुझाएको छ ।

प्रहरीले शनिबार आईएलटीएस परीक्षा लिने ब्रिटिस काउन्सिल र आईडिपीको प्रश्नपत्र र ‘लिक’ भएको प्रश्नपत्रलाई दुवैको रोहवरमा दाँजेको थियो ।

अनुसन्धानमा ब्रिटिश काउन्सिलको असहयोग

यसअघि काठमाडौंस्थित ब्रिटिस काउन्सिलले परीक्षामा सोधिएको प्रश्नपत्र प्रहरीलाई उपलब्ध गराउन आनाकानी गरेको थियो । प्रहरी स्रोतका अनुसार काउन्सिलले उल्टै प्रहरीलाई प्राप्त भएको प्रश्न आफूहरुलाई दिन भनेको थियो । काउन्सिलले आफैं अनुसन्धान गर्ने भन्दै प्रहरीलाई असहयोग गरेको थियो ।

‘हामीले काउन्सिलले प्रश्नपत्र उपलब्ध नगराए अरु परीक्षा पनि रोक्नु पर्ने व्यवहोराको पत्र पठाएका थियौं । त्यसपछि निकै कसरतबाट प्रश्न प्रहरीलाई प्राप्त भयो’, एक प्रहरी अधिकारीले भने, ‘ब्रिटिस काउन्सिलका जिम भनिने एकजना विदेशी नागरिक र आईडीपीका विदुर खड्कीलाई ल्याएर बयानसमेत लियौं । तर, उनीहरुको संलग्नता देखिएन ।’

प्रहरीका अनुसार पक्राउ परेका ३ जनाले समेत नेपालस्थित ब्रिटिस काउन्सिलका व्यक्तिको नाम लिएका छैनन् ।

पक्राउ परेका सुरजको बयान अनुसार भारतका हनी सिंह नामक व्यक्तिले उनलाई भाइबरमा प्रश्नपत्र पठाएका थिए । त्यसका लागि उनले निश्चित रकम मागेका थिए । सिंहसमेत भारतस्थित ब्रिटिस काउन्सिलकै एजेन्ट भएको खुलेको छ ।

यसरी बाहिरिएको थियो प्रश्नपत्र

आईईएलटीएस परीक्षाको प्रश्नपत्र आउट भइरहेको छ भन्ने सुराकीका आधारमा २२ पुसमा काठमाडौं प्रहरी परिसरले अपरेशन चलायो । अनुसन्धानका क्रममा सुन्धारास्थित होटल सप्तरङ्गीको कोठा नं. ३१० मा बिहान ४ बजे आर्थिक ‘डिलिङ’ हुँदाहुँदै प्रहरीले १३ जनालाई पक्राउ गर्‍यो ।

पक्राउ परेका मध्ये ३ जना कन्सल्टेन्सी सञ्चालक थिए । बयानपछि ८ जनालाई छाडियो भने घटनामा प्रत्यक्ष संलग्न देखिएका ३ जनामाथि प्रहरीले अनुसन्धान थाल्यो ।

झापा घर भई बालुवाटार बस्दै आएका ३९ वर्षीय सुरज लामा, महेन्द्रनगर–७, हल्दुखाल घर भइ काठमाडौंको लैनचौर बस्ने २० वर्षीय गणेशराज उपाध्याय र स्याङ्जाको चापाकोट–९ घर भई हाल काठमाडौंको सामाखुशी बस्दै आएका २० वर्षीय विधान आचार्यबिरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरु गरेको थियो । पक्राउ परेका लामा पुलतीसडकमा सञ्चालित नेपाल वल्र्डवाइड एजुकेशन कन्सल्टेन्सीका सञ्चालक हुन् ।

सुरजले भाइबरमा प्रश्नपत्र पाएपछि कञ्चनपुरको महेन्द्रनगर–७, हल्दुखाल घर भइ काठमाडौंको लैनचौर बस्ने २० वर्षीय गणेशराज उपाध्यायलाई प्रश्नपत्र भाइबरमार्फत पठाएका थिए । र, उपाध्यायले स्याङ्जाको चापाकोट–९ घर भई हाल काठमाडौंको सामाखुशी बस्दै आएका २० वर्षीय विधान आचार्य र रुपन्देहीका निकेश न्यौपानेलाई त्यो प्रश्नपत्र पठाएका थिए ।

प्रहरीका अनुसार उनीहरुले आईईएलटिएस परीक्षाको प्रश्नपत्र विद्यार्थीलाई दिने प्रलोभन देखाएर १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म लिएका थिए ।

भारतका काउन्सिल एजेन्ट हनी सिंहले प्रश्नपत्र पठाएको पाइएपछि प्रहरीले थप अनुसन्धानका लागि दिल्ली प्रहरीमा समेत उजुरी हाल्न ब्रिटिस काउन्सिललाई पत्र लेखेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘हनी सिंहलाई अहिले हामी पक्रिन सक्दैनौं । त्यहाँ काउन्सिलको स्थानीय एजेन्ट समेत भएकाले ती व्यक्तिविरुद्ध फौजदारी मुद्दा हाल्न हामीले भनेका छौं । नेपालका काउन्सिलका कर्मचारी कन्भिन्स भएका छन् ।

-अनलाइन खबरबाट ।