१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेसबाट राष्ट्रिय सभामा यी निर्वाचित हुँदैछन

नेपालब्रिटेन डट कम्
१५ माघ २०७४, सोमबार ०५:५२

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसलाई शून्य बनाउने अभियानमा एमाले लागेको थियो । तर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बुद्धिमत्तापूर्ण अडानका कारण एमालेको प्रयास असफल मात्रै भएन, नेपाली कांग्रेसले अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको छ ।
यही माघ २४ गते ५६ सिटका लागि हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसले ६ सिट निर्विरोध हात पारिसकेको छ । प्रदेश १ बाट सरिता प्रसाई, २ बाट जितेन्द्र देव र मुक्ताकुमारी यादव, ४ बाट प्रकाश पन्थ र ७ बाट बद्री पाण्डे र तारादेवी भट्ट निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी, प्रदेश १ बाट रमेशजंग रायमाझी, ३ बाट राधेश्याम अधिकारी र धना खतिवडा, ४ बाट सुरेन्द्र पाण्डे र वृन्दा रानामगर, ५ बाट सूर्य उपाध्याय र अनिता देवकोटा सजिलै चुनाव जित्ने अवस्थामा छन् । यसरी ५६ मध्ये नेपाली कांग्रेसले राष्ट्रिय सभामा १३ सिट हात पार्ने देखिएको छ ।
प्रदेश १, ४ र ७ बाट दुई–दुई सिट जित्ने सम्भावना रहे पनि अन्य प्रदेशमा नेपाली कांग्रेसको सम्भावना कमजोर थियो । मधेसी दलले साथ दिने भएपछि प्रदेश २ र प्रदेश ५ बाट नेपाली कांग्रेसले दुई–दुई सिट जित्ने अवस्था बनेको हो । प्रदेश ३ मा राप्रपा, विवेकशील साझालगायतका साना पार्टीले साथ दिने भएपछि नेपाली कांग्रेसले दुईवटा सिट जित्न लागेको हो । प्रदेश ४ को अपांगता कोटामा नेपाली कांग्रेसले अपेक्षा नगरेको सिट हात पारेको छ । वाम गठबन्धनले सवलांग रामबहादुर थापालाई उम्मेदवार बनाएको थियो । उनको उम्मेदवारी खारेज भएका कारण नेपाली कांग्रेसका प्रकास पन्थ निर्विरोध निर्वाचित भए ।
नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभामा पुग्न लागेका १३ मध्ये अधिकांश नयाँ अनुहार हुन् । एकपटक सांसद बन्ने वा सांसदको टिकट पाइसकेकालाई राष्ट्रिय सभामा नलैजाने नीति बनाइएका कारण नयाँले अवसर पाएका हुन् । १३ मध्ये सरिता प्रसाई, मुक्ताकुमारी यादव, जितेन्द्र देव, राधेश्याम अधिकारी, धना खतिवडा, वृन्दा रानामगर र अनिता देवकोटा गरी सातजना मात्रै पूर्वसांसद हुन् । बाँकी ६ जना पहिलोपटक सांसद बन्न लागेका हुन् । यी ६ मध्ये रमेशजंग रायमाझीले २०७० सालको संविधानसभा निर्वाचनमा मोरङ–८ बाट टिकट पाएका थिए ।