७ बैशाख २०८१, शुक्रबार
Follow Us

शर्माले चार करोड रुपैयाँभन्दा बढीको श्रोत खुलाउन सकेनन, विशेष अदालतमा मुद्दा

नेपालब्रिटेन डट कम्
१५ माघ २०७४, सोमबार १२:०२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको रु चार करोड २९ लाख ५४ हजार १२४ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वभाविक देखिएको भन्दै आयोगले आज बिगो असुल उपर गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् विसं २०७३ मंसिर मसान्तसम्म रु तीन करोड ६३ लाख ७२ हजार ९६१ आर्जन गरेको देखिएको छ । आयोगका अनुसार सोही अवधिमा चल अचल सम्पत्ति एवं शेयर लगानीलगायतमा अध्ययन गर्दा रु सात करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिन आएको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार विगोबमोजिम जरिवाना र कैद सजायको मागका साथै शर्माले स्रोत पुष्टि गर्न नसकेको रकम जफथ गर्ने मागदाबीसहित मुद्दा दायर गरिएको हो ।