१३ बैशाख २०८१, बिहीबार
Follow Us

पार्टी एकता पनि ७०-३० कै अनुपातमा : नेता पाण्डे

नेपालब्रिटेन डट कम्
१५ माघ २०७४, सोमबार १२:२५

चितवन । नेकपा (एमाले)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकता र संघीय सरकारमा पनि ७०-३० कै हाराहारीमा हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०-४० को भागबन्डा गरेपनि चुनावको परिणामले दुई पार्टीलाई ७०-३० को अनुपातमा लगेको बताउनुभयो ।

प्रदेशमा ७०-३० को भागबन्डा गरिएको बताउँदै नेता पाण्डे भन्नुभयो, “राष्ट्रियसभा र प्रदेशको सिट बाँडफाँड ७०-३० प्रतिशतको आधारमा गरिएको छ, पार्टी एकीकरण र संघीय सरकार पनि त्यसै अनुपातमा हुनसक्छ ।”उहाँले एक जना मन्त्री यता र उता हुँदा प्रतिशतमा तलमाथि भए पनि समग्रमा यसैलाई आधार मानिने स्पष्ट पार्नुभयो ।

नेता पाण्डेले भन्नुभयो “एमालेलाई ६० देखि ७० प्रतिशत र माओवादी केन्द्रलाई ३० देखि ४० मा घटी बढी नहुने गरी पार्टी र सरकारको भागबन्डा मिलाईन्छ ।”

पार्टी एकीकरणका लागि विभिन्न आधार तय गरिएको बताउँदै उहाँले पार्टी एकीकरण भन्दा पहिला नै सरकार गठन हुने बताउनुभयो । नेता पाण्डे दुई वटा पार्टी भएर सरकारमा जाँदा धेरै कुरामा फाइदा हुने बताउँदै दुई पार्टीबीच अहिलेसम्म कुनै बिमति नरहेको र पार्टी एकीकरण पनि सहज रुपमा हुने दाबी गर्नुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहनु भएका पाण्डेले सरकारले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने खालका निर्णय गर्नु लोकतान्त्रिक पद्धती विपरित भएको उल्लेख गर्दै देउवा सरकारका निर्णयले अर्थतन्त्र धरासायी हुने बताउनुभयो ।

चितवनले प्रदेशको राजधानी नपाए पनि आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, “चितवन नमूना आर्थिक राजधानी बन्छ, यसलाई कसैले रोक्न सक्दैन ।” चितवनले राजधानी र मन्त्री नपाए पनि यहाँको विकास र समृद्धि नरोकिने पनि उहाँले बताउनुभयो ।