७ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचन चिह्न पाएसँगै उम्मेदवार प्रचारप्रसारमा

नेपालब्रिटेन डट कम्
१५ माघ २०७४, सोमबार १३:३१

काठमाडौं । राष्ट्रियसभा सदस्यका उम्मेदवार आज निर्वाचन चिह्न पाएसँगै निर्वाचन प्रचारप्रसारमा जुट्नुभएको छ । यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि सातै प्रदेशमा स्थापना गरिएको निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई आज निर्वाचन चिह्न प्रदान गरेको थियो ।

सातवटै प्रदेशमा गरी राष्ट्रियसभाका अब ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचन कार्यतालिका अनुसार, आज दिनको २ बजेसम्म उम्मेदवारलाई आफ्नो मनोनयनपत्र फिर्ता लिनका लागि समय प्रदान गरिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयलाई उद्धृत गर्दै ५६ पदका लागि हुन लागेको निर्वाचनमा २४ जना उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार, प्रदेश न १ मा महिला तीन र अन्य तीन गरी छ जना उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ भने अब दलित १ र अपांगता भएका वा अल्पसंख्यक एक पदका लागि निर्वाचन हुँदैछ ।

प्रदेश नं २ मा आठवटै पदका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । प्रदेश नं ३ मा आठवटै पदमा मतदान हुनेछ भने प्रदेश नं ४ मा अपांगता भएका वा अल्पसंख्यक एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएकाले अन्य पदमा निर्वाचन हुनेछ ।

आयोगका अनुसार, प्रदेश नं ५ मा महिला तीन पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नु भएकाले अन्य तीन, दलित एक र अपांगता भएका वा अल्पसंख्यक एक गरी जम्मा पाँच पदमा निर्वाचन हुनेछ ।

त्यस्तै, प्रदेश नं ६ मा सबै पदमा निर्वाचन हँुदैछ भने प्रदेश ७ मा महिला तीन र अन्य तीन गरी छ पदमा उम्मेदवार निर्विरोध भएकाले अब दलित एक र अपांगता भएका वा अल्पसंख्यक एक गरी दुई पदमा निर्वाचन हुने आयोगले जनाएको छ ।