१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङको चुनावी अभियान शुरु

नेपालब्रिटेन डट कम्
१५ माघ २०७४, सोमबार १४:४४

ब्रिटेनमा आउँदो मे महिनाको ३ तारिखमा हुन गैरहेको स्थानीय निकायको चुनावमा सत्तारुढ कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदका उम्मेदवार लक्ष्य गुरुङले आफ्नो चुनावी अभियान शुरु गरेका छन्।

बार्नेट काउन्सिलको हेल वार्डबाट उम्मेदवारको रुपमा छनोट गरिएका गुरुङले आइतबार बिहान मिलहिल क्षेत्रमा घरघरमै पुगेर स्थानीय वासिन्दाका समस्याहरुका बारेमा जानकारी लिएका थिए। उनको सो अभियानमा हेण्डन क्षेत्रका सांसद डा. म्याथ्यु अफोर्ड, स्थानीय कन्जर्भेटिभ पार्टीका पदाधिकारीहरु ओली हेजल, ली ट्याफ, श्रीमती स्मीता ट्याफ तथा बार्नेट काउन्सिलमै कन्जर्भेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदका उम्मेदवारहरु लेथ जेलाह तथा एलिएट सिमवर्ग पनि सहभागी भएका थिए।

“हामीले भेटेका धेरैजसो मतदाताहरुले आफ्नो घर अगाडिको सडकपेटी, पार्क, ट्राफिक, चोरीको समस्या तथा त्यसक्षेत्रमा बन्न लागेको एउटा नयाँ आवास योजनाबारे आफ्ना चिन्ताहरु हामीलाई बताए। हामीले स्थानीय समुदायका यी गुनासाहरु संबोधन गर्न आफ्नो पार्टीको तर्फबाट काम गर्ने विश्वास दिलाएका छौं,” गुरुङले भने। सन् २०१४ मा भएको स्थानीय चुनावमा आफ्नो गृह क्षेत्र बर्न्टओक वार्डबाट उम्मेदवारी दिएका गुरुङ यसपटक कन्जर्भेटिभ पार्टीकै तर्फबाट हेल वडाबाट उम्मेदवार बनेका हुन्।,

बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ गैरआवासीय नेपाली संघको युरोप क्षेत्रमा पूर्व उपसंयोजक पनि हुन्। उनलाई हालै एनआरएन आइसिसिले गोर्खासंग सहयोग उपसम‌ितिको अध्यक्षमा मनोनयन गरेको छ।