६ बैशाख २०८१, बिहीबार
Follow Us

आज शहीद दिवस

नेपालब्रिटेन डट कम्
१६ माघ २०७४, मंगलवार ०४:२८

काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा जीवन आहूति दिने शहीदको सम्झना गरी आज शहीद दिवस मनाइँदै छ ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सप्ताहकै रुपमा शहीद दिवस मनाउने गरिएको छ । विक्रम सम्वत २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजनमा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । नागरिक स्वतन्त्रताको माग गर्दा शुक्रराज शास्त्रीलाई विक्रम सम्वत १९९७ मा माघ १० गते काठमाडौँको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले मृत्युदण्ड दिएका थिए ।
शहीद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आज अपराह्न ‘प्रथम शहीद’ लखन थापादेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञातअज्ञात शहीदको सम्झनामा काठमाडौंका उत्तरपूर्वी क्षेत्रमा पर्ने गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा श्रद्धाञ्जली कार्यक्रम गर्न लागिएको छ ।
यसैबीच, शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले छुट्टा–छुट्टै सन्देश जारी गरेर श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । यस्तै, एमाले अध्यक्ष केपी ओलीले पनि सन्देश जारी गरेर श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।