१३ बैशाख २०८१, बिहीबार
Follow Us

१० चितुवा मृत फेला

sarusaru
१६ माघ २०७४, मंगलवार ०५:१८

पोखरा : कास्कीमा वैशाखदेखि अहिलेसम्म १० वटा चितुवा मृत फेला परेका छन्। जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार कास्कीका विभिन्न ठाउँमा ती चितुवा मृत फेला परेका हुन्। मृत फेला परेकामध्ये ७ वटा भाले र ३ वटा पोथी चितुवा छन्। साउन, भदौ र असोजमा १/१ वटा, पुसमा ४ वटा र माघमा ३ वटा चितुवा मृत फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ। आइतबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ भेडीफारम नजिकै मृत चितुवा फेला परेको हो। ‘चितुवालाई विष खुवाएर मारिएको पोस्टमार्टम रिपोर्टले देखाएको छ’, बरालले भने,‘ यसबारे अनुसन्धान भइरहेको छ।’

मृत फेला परेकामध्ये दुई वटा चितुवालाई विष खुवाएर मारिएको पोस्टमार्टम रिपोर्टमा देखिएको बरालले बताए। त्यसैगरी, भाले चितुवा आपसमा लड्दा, सडकमा सवारी साधनसँग ठोक्किएर, बिरामी भएर र वृद्ध भई ती चितुवा मरेको बरालको भनाइ छ। जिल्ला वन तथा भूसंरक्षण मन्त्रालयले गरेको वन मापनले मध्यपहाडी भूभागमा विगत १० वर्षमा वन क्षेत्र बढ्दै गएको देखाएको छ भने गाउँघरका बारी र टारीमा पनि खेती गर्न छाडिएकाले वनमा परिणत भएका छन्।

वन क्षेत्र बढ्दै जाँदा चितुवाको संख्या पनि वृद्धि भएको छ। बरालका अनुसार १० वर्षअघि कास्कीमा ९३ हजार ६ सय ४९ हेक्टर वन क्षेत्र रहेकामा अहिले करिब २ प्रतिशत वृद्धि भएको छ। राष्ट्रिय रूपमा करिब ५ प्रतिशत वन क्षेत्र बढेको बरालको भनाइ छ। १० वर्षअघि देशको कुल भूभागको ३९ दशमलव ६ प्रतिशत वन क्षेत्रले ओगटेकोमा अहिले ४४ दशमलव ७४ प्रतिशत वन क्षेत्र पुगेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अधिकांश वन्यजन्तुमा सेक्स रेसियोमा असन्तुलन हुँदै गएको छ। जसकारण भालेको संख्यामा वृद्धि र पोथीको संख्यामा कमी आएको छ। एउटा जंगलमा दुई वटा भाले चितुवा रहन नसक्ने र दुईमध्ये एउटाले अर्कोलाई परास्त गरी मार्ने वा लखेट्ने हुँदा भाले चितुवा एकआपसमा झगडा गरेर मर्ने गरेको पाइएको छ। चितुवाको भाले–पोथी भेट हुने र समागमको समय पुसदेखि चैत मध्यसम्म हुने भएकाले यस समयमा भाले चितुवा जुधेर धेरै मर्ने गरेको पाइएको छ।
-अन्नपूर्ण पोष्टबाट ।