१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एमालेले राष्ट्रियसभाको निर्वाचनपछि मतदानबाट मुख्यमन्त्री छान्ने

नेपालब्रिटेन डट कम्
१६ माघ २०७४, मंगलवार ०९:०१

काठमाडौं । नेकपा (एमाले)ले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि मतदातालाई अभिमुखीकरण तालीम सञ्चालन गर्ने भएको छ ।

पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको स्थायी कमिटी बैठकले निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारेमा सिकाउनका लागि अभिमुखीकरण तालीम सञ्चालन गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यही माघ २१ गतेसम्म प्रत्येक प्रदेशमा मतदातालाई आफ्ना उम्मेदवारलाई मत हाल्नका लागि अभिमुखीकरण तालीम सञ्चालन हुनेछ ।

बैठकले प्रदेश मुख्यमन्त्री र प्रदेशमन्त्रीको चयन राष्ट्रियसभाको निर्वाचनपछि गरिने निर्णयसमेत गरेको उहाँले बताउनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् ।

बैठकले नयाँ सरकार गठनपछि वर्तमान सरकारले गरेका पछिल्ला निर्णयको जिम्मेवारी नलिने निर्णय पनि गरेको नेता पोखरेलले जानकारी दिनुभयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायतको उपस्थिति थियो ।