१५ चैत्र २०८०, बिहीबार
Follow Us

आज स्वास्थानी पूर्णीमा ; साङ्गे गर्दै ब्रतालुहरु

sarusaru
१७ माघ २०७४, बुधबार ०४:१५

काठमाडौं । स्वस्थानी व्रत कथाको आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेकाे व्रतकाे अाज विधिवतरूपमा समापन हुन लागेकाे हाे ।

महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन छ ।

स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अंग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

यसवर्ष स्वस्थानी व्रत कथाको सांगेको दिन खग्रास चन्द्र ग्रहण लागेकाले बिहान ८ बजेर ५५ मिनेटअघि नै व्रत समाप्त गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

८ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नुपर्ने पञ्चांगको सुझाव छ ।

मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्न सक्ने समितिले जनाएको छ । काठमाडौँ उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत ग्रहण लाग्नुअघि नै समापन गर्ने गरी तयारी माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले गरेको छ ।