७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिए’

नेपालब्रिटेन डट कम्
१७ माघ २०७४, बुधबार ०८:१६

काठमाडौं । डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको एकभन्दा बढी नागरिकता रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौबाट प्रतिलिपी माग गरेका छन् । चिकित्साशिक्षा सुधारमा निरन्तर लागेका डा. केसीले दर्ता गराएको उजुरीमा प्रधानन्यायाधीश पराजुलीको तीनओटा नागरिकता रहेको जिकिर गरिएको छ । डा. केसीले बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई भेटी उजुरी दर्ता गराएका हुन् ।

डा. केसीसहित, अधिवक्ता ओमप्रकाश अर्याल, डा.सुरेन्द्र भण्डारी र डा. अभिषेकराज सिंह जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर उजुरी दर्ता गराएका हुन् । प्रधानन्यायाधीशले नै एकभन्दा बढी नागरिकता लिएपछि उसले गर्ने निर्णय कसरी न्यायिक हुन्छ ? भन्दै डा. केसीले प्रश्नसमेत गरे । डा. केसीले आफूले सधैं अदालतको सम्मान गर्ने तर भ्रष्ट र माफियालाई भने पदबाट मुक्त गराएर नै छाड्ने अडान रहेको बताए ।

यसैबीच, डा.केसीको मुद्दामा वकिल रहेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको आरोप पनि लगाइएको छ । प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै डा. भण्डारीले बुधबारै जिल्ला प्रशासन कार्यालय काठमाडौंमै उजुरी दिएका छन् । प्रधानन्यायाधीश पराजुरीले वरिष्ठ अधिवक्ता डा. भण्डारीलाई टेलिफोनमार्फत् ज्यान मार्ने धम्की दिएकाले जीउज्यानको सुरक्षाका लागि उजुरी दर्ता गराइएको डा. केसीले बताए ।