१३ बैशाख २०८१, बिहीबार
Follow Us

पक्राउ परेका डाक्टरहरु अधिकांश चिनियाँ

नेपालब्रिटेन डट कम्
१७ माघ २०७४, बुधबार १३:५४

काठमाडौं । प्रहरीले दुई दिन अघि राजधानीका विभिन्न अस्पतालबाट नियन्त्रणमा लिएका डाक्टरहरु अधिकांश चिनियाँ रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका मध्य १३ जना चिनियाँ, एक जना अष्ट्रेलियन र ३ जना अस्पताल संचालक नेपाली रहेको जनाएको हो ।

मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा गत सोमबार पाँच वटा निजी अस्पतालमा छापा मारेर १७ जनालाई पक्राउ गरिएको थियो । उनीहरुले नेपालमा काम गर्न अनुमति नलिएको र मेडिकल काउन्सिलले लिने परीक्षा पनि पास नगरेको पनि प्रहरीले जनाएको छ । सीआइबीले एपोलो अस्पताल, ठमेलका सञ्चालक मीनाकुमारी श्रेष्ठसहित ८ जना चिनियाँलाई पक्राउ गरेको थियो भने सीआईडब्लूईसी अस्पतालबाट अष्ट्रेलियन र अस्पताल सञ्चालक प्रतिभा पाण्डेलाई पक्राउ गरेको थियो ।

यस्तै चाइना ग्रेट वाल हेल्थ सेन्टर, बौद्धबाट दुई चिनियाँ र सञ्चालक नारायण तिमिल्सिनालाई पक्राउ गरिएको र चाइना पिपुल अस्पताल बौद्धबाट दुई चिनियाँ र चाइना डेन्टल हस्पिटलबाट एक चिनियाँलाई पक्राउ गरिएको थियो । उनीहरुलाई ठगीको अभियोगमा अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।