१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्वराजको नेपाल भ्रमण टोलीमा को–को ?

नेपालब्रिटेन डट कम्
१७ माघ २०७४, बुधबार १४:००

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमणको लागि नेपाल आउने भएकी छिन् । भोली १८, माघ अर्थात विहीबार उनी काठमाडौं आउन लागेकी हुन् । विशेष प्रयोजन नखुलेको कारण आकस्मिक भ्रमणमा स्वराज विशेष विमानबाट साँझ काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताएको छ ।

स्वराज २४ घण्टा काठमाडौंमा रहने भएपनि होटल तय भइनसकेको बताइएको छ । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा रहने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएकाले मोदी भ्रमणको गृहकार्यका सिलसिलामा स्वराज काठमाडौं आउन लागेको बताइए पनि यसबारे आधिकारीक धारणा भने बाहिरिएको छैन् ।

स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार र २ जना सञ्चारकर्मी आउने भएका छन् । स्वराजले काठमाडौं रहँदा राष्ट्रपति, प्रधानमन्त्री एमाले अध्यक्ष, माओवादी अध्यक्षलगायत अन्य नेताहरुसँग भेटघाट गर्ने बताइएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार दिउँसो भेटवार्ता गर्ने भएकी छन् ।

विदेशमन्त्री स्वराजले राष्ट्रपति भण्डारीसँग शुक्रबार दिउँसो १२ बजे राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गर्ने तय भएको स्रोतले बतायो । राष्ट्रपति भण्डारीसँगको भेटघाटमा भारतीय विदेश सचिव विदेशमन्त्री स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले लगायत हुनेछन् । भेटघाट आधा घण्टादेखि ४५ मिनेटसम्म हुने बताइएको छ ।

राष्ट्रपतिलाई भेटिसकेपछि स्वराजले प्रधानमन्त्रीलगायत अन्य शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ ।