१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा जनजाति महिलाको च्यारिटी डिनरमा २ लाख संकलन

नेपालब्रिटेन डट कम्
१७ माघ २०७४, बुधबार २१:३२

लण्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ (नेआजमम) यूकेले गत आइतबार एक च्यारिटी डिनरको आयोजना गरी दुई लाख रुपैंया सहयोग संकलन गरेको छ ।

पश्चिम लण्डनको नर्थहोल्टस्थित गोल्डनसिप रेस्टँरामा सम्पन्न च्यारिटी डिनरलाई सफल पार्न आदिवासी जनजाति महासंघ (नेफिन) यूके र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको विशेष सहायता रह्यो ।

संयुक्त अनाथ तथा अपांग एकता केन्द्र नेपाल र पर्वतारोही पत्रकार देउराली चाम्लिङको सगरमाथा आरोहण अभियानको लागि सहयोग संकलन गर्न च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको नेआजमम अध्यक्ष श्रीमती विमला कुमारी राईले बताइन् ।

सांझ ६ बजेदेखि शुरु भएको कार्यक्रममा बेलायतस्थित बिभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र समाजसेवीहरुको उपस्थिति थियो । कार्यक्रमको पहिलो सत्र महासचिव वशुन्धरा याख्खाले सञ्चालन गरिन् भने दोश्रो सत्रको सांस्किृतिक कार्यक्रम कर्मा पहाडीले सञ्चालन गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष तुल छन्त्यालले महिला महासंघले गरेको यस कार्यका लागि धन्यवाद दिंदै भविष्यका प्रयासहरुमा पनि नेफिन यूकेको सहयोग रहने प्रतिवद्दता ब्यक्त गरे ।

कार्यक्रम समापन गर्ने क्रममा अध्यक्ष श्रीमती बिमला राईले च्यारिटी डिनर सफल पार्न सहयोग गर्ने नेआजमम कार्यसमितिका सहकर्मीहरु, नेफिन यूके, फोनिज यूके, दाताहरु र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताइन् ।