१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिलाको प्रयोग ;पाँचजनाविरद्ध लागुऔषध मुद्दा

sarusaru
१८ माघ २०७४, बिहीबार ०२:४६

पर्सा । नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ। वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो।

वीरगन्जको रजतजयन्ती चोकबाट चरेससहित पक्राउ परेकी आठमहिने शिशुकी आमा अपसाना खातुन, रेहना खातुन र कारोबारी भारतको विहार मोतिहार निवासी जहुर आलमलाई बुधबार सार्वजनिक गर्दै पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले महिला प्रयोगबारे जानकारी दिए।

उनले गर्भवती तथा सुत्केरी महिलामाथि शंका नहुने र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हतपती चेक जाँच नगर्ने अनुमानका आधारमा कारोबारीले नेपालबाट भारततर्फ हुने लागुऔषध ओसारपसारमा महिलाको प्रयोेग गरिरहेको बताए।

मकवानपुर जिल्लाको हेटौँडाबाट खरिद गरिएको लागुऔषधलाई सीमा कटाउन कारोबारीले रु दुईहजारदेखि अढाई हजारसम्म महिलालाई दिने गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक रेग्मीले दाबी गरे। उनले पक्राउ परेका महिला विगतमा समेत चरेस ओसार्ने कार्यमा लिप्त भएको अनुसन्धानबाट खुलेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकारसम्मेलनमा सुईजन्य लागुऔषध नेपाल भित्र्याउने अभियोगमा पक्राउ परेका दुईजना युवालाई समेत सार्वजनिक गरिएको थियो।

रक्सौलबाट खरिद गरिएको सुईजन्य लागुऔषध नेपाल भित्र्याउने क्रममा सीमा क्षेत्रबाट पक्राउ परेका भक्तपुर अनन्तलिंगेश्वर नगरपालिका-१० निवासी रोहण खड्का र हेटौँडा उपमहानगरपालिका-१३ निवासी दीपेन्द्र खत्रीलाई सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले पक्राउ परेका पाँचै जनाविरुद्ध लागुऔषध मुद्दा चलाउने तयारी भएको बताए।
– रासस