१५ चैत्र २०८०, बिहीबार
Follow Us

फुलचोकीबाट हराएका जोनको सकुशल उद्दार गरियो

sarusaru
१८ माघ २०७४, बिहीबार ०२:५३

काठमाडौं । हाइकिङका लागि फूलचोकी गएर फर्किने क्रममा बेपत्ता भएका १७ वर्षीय विद्यार्थी जोन तामाङको ६ दिनपछि बुधबार जिवितै उद्दार गरिएको छ ।

उनको काठमाडौंको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

उनी घनाजंगलमा भेटिएका हुन् । उद्धारकर्ता चन्द्र आलेका अनुसार उनी बाटो विराएर हिड्दै जाने क्रममा त्यहाँ पुगेको जस्तो देखिएको छ ।

आलेले अनलाइनखबरसँग भने, ‘माथिबाट लडेको उनी झाडीमा अडि्कएका रहेछन् ।’

मंगलबारदेखि नै जोनको खोजी सुरू भएको थियो । तर, नभेटिएपछि उद्धारकर्ताहरुको टोली बुधबार पनि विहान ११ बजेदेखि नै खटिएका थिए ।

फुल्चोकी डाँडाबाट समूह बाँडेर झर्ने क्रममा ओलेको टोलीले सुरुमा एउटा झोला भेट्टाएको थियो । सुरूमा त जंगलको बीचमा भेटिएको झोलामा के के छ भन्ने लाग्यो । तर, खोलेर हेर्दा एउटा पेन र चच्चा भेट्टियो ।

नजिकै केही धसारिएको जस्तो देखिन्थ्यो । छेउमा टिफिनबक्स पनि थियो । उद्धारकर्ता चन्द्र आलेले भने, ‘अलि तल मानिस लडेको जस्तो लाग्यो । फोटोको टोपी हेर्दा हन्ड्रेड पर्सेन्ट जोन हो भन्ने लाग्यो ।’

उनका अनुसार जोन झाडीमा अडि्एका थिए । सुरुमा भेट्दा अचेत जस्तो देखिएका जोनलाई उद्दारकर्ताहरुले बोलाए । उनले आँखा खोले र बेस्सरी रोए । ‘तिम्रो नाम जोन हो भन्दा टाउको हल्लायो । अनि हामीले पानी र विस्कुट दियौं’ उद्दारकर्ता आलेले भने ।

उद्दारकर्ताद्वय
झाडीभित्र भेटिएका उनलाई निकै मुस्किलले सडकसम्म ल्याइएको थियो ।

अहिले उनको बी एण्ड बी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ र सामान्य बोल्न सक्छन् । जोन भेटिएको खबर पाएपछि आमाबुबा र परिवारका सदस्यहरु अस्पताल पुगेका थिए । छोरालाई देख्दा उनीहरु भावुक बने ।

कस्तो अबस्थामा थिए जोन ? कसरी भेटाए उनीहरुले ? चन्द्र आले यसरी सुनाए घटना बिबरण-

हिजोसम्म खोज्दा पनि हामीले अझै आश मारेका थिएनौं । त्यसैले आज फेरि फुलचोकीको फुलचोकीको टुप्पोमा पुगेर तल झर्‍यौं । अलि तल सानो पोखरी रहेछ, त्यहाँबाट दुई टोली छुटियो ।

हामीचाहिं लाकुरी भञ्ज्याङ जाने बाटोतिर दायाँ लाग्यौं । करिव सात आठ सय मिटर तल झरेपछि एउटा झोला भेट्यायौं । झोलाभित्र एउटा पेन र चम्चा पनि भेटियो । दायाँबायाँ मान्छे घसि्रएको जस्तो देखियो । हामीलाई शंका लाग्यो ।

अलि तलतिर झरेपछि पिपलको रुखजस्तो लडेको रुखको चेपमा एउटा मान्छे देख्यौं । फोटोको टोपी देख्दा र त्यो मान्छेको टोपी देख्दा जोन नै हो भन्ने कन्र्फम भयौं ।

हामी जोन भनेर करायौं । उसले फर्किएर हेर्‍यो । हामी त्यहाँ पुगेपछि उ रुन थाल्यो । बोतलको पानी खुवायौं । त्यहाँसम्म पुग्ने बाटो अप्ठेरो थियो, त्यसैले फाँडफुड गरेर बाटो बनायौं । उसलाई भोक लागेको होला भनेर हामीसँगै लगेको बिस्कुट पनि दियौं ।

उसलाई भेटाउँदा करिव पौने पाँच बजेको थियो । जोन घोप्टो परेर लडिरहेको थियो तर होसमै थियो ।

हिजो अस्ती प्रहरी, सेनाले बाटोतिर मात्रै खोजे, हामीले अलिकति दायाँबायाँ हेर्दा जोन भेटियो । त्यो ठाउँ एकदमै डरलाग्दो छ । घना जंगल छ, एक दुई जना हिडन पनि डर लाग्ने खालको ठाउँ हो ।
– अनलाइन खबरबाट ।