७ बैशाख २०८१, शुक्रबार
Follow Us

सांसदलाई धम्क्याएर दुई करोड माग्ने पक्राउ

sarusaru
१८ माघ २०७४, बिहीबार ०३:२०

पोखरा : प्रदेश सांसद बिन्दुकुमार थापालाई अपहरण गरी फिरौती असुल्न खोज्ने ४ जनालाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको छ । निर्वाचनमा विजय भएलगत्तैदेखि मनोज पुनको नाम लिएर थापालाई धम्क्याउँदै दुई करोड रुपैयाँ असुल्न खोज्ने स्याङ्जाका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बुटवलमा एमालेका २ जना युवा नेता हत्याको जिम्मेवारी लिएका मनोज पुनको नाम लिएर स्याङ्जा टक्सारका शंकर भनिने नलबहादुर गुरुङ, आशीष खड्कालगायतले सांसद थापासँग १ महिनादेखि पैसा मागिरहेका थिए ।

उनीहरूविरुद्ध बुधबार सांसद थापाले कास्की प्रहरीमा शरीर बन्धक तथा अपहरणसम्बन्धी आरोपसहित उजुरी दर्ता गराएका छन् । प्रहरी उजुरीमा उल्लेख मुद्दामा कास्की अदालतबाट थुनामा राख्ने समय मागी गुरुङलगायतमाथि अनुसन्धान थालिसकेको छ ।

सुरुमा मनोज पुन भन्ने आफ्ना पुराना व्यावसायिक साझेदार ठानेर बेवास्ता गरेकोमा पछि बुटवलमा नेताहरूको हत्या गर्नेचाहिँ भन्दै गुरुङले फोनबाट धम्क्याउन थालेपछि प्रहरीमा जाहेरी दिएको सांसद थापाले सुनाएका छन् । ‘कहिले इन्डियाको बाट त कहिले नेपाल नम्बरबाट फोन गरिरहन्थे,’ थापाले भने, ‘पोखराको लेकसाइडमै बसेर योजना बनाएका रहेछन् ।’ थापाले आफूसँग २ करोड र व्यवसायी कालु गुरुङसँग १० करोड त्यही समूहले मागेको पनि उल्लेख गरेका छन् । कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले यसबारे जानकारी दिन मानेनन् ।

सांसद थापा पोखराकै चर्चित घरजग्गा व्यवसायी हुन् । त्यसबाहेक उनको लगानी यहाँको सबैभन्दा ठूलो व्यापारिक कम्प्लेक्स र बैंकलगायतमा पनि लगानी छ ।
-अन्नपूर्ण पोष्टबाट ।