७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेश ३ बाट प्रदेशसभाको अधिवेशन आरम्भ

नेपालब्रिटेन डट कम्
१८ माघ २०७४, बिहीबार ०३:४१

काठमाडौं । देश संघीय संरचनामा रुपान्तरण भएपछि प्रदेश ३ को प्रदेशसभा पहिलो बैठक बस्दै छ । प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने र सभामुख चयनको प्रस्ताव राखिएको छ । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नु हुनेछ ।

यसअघि हेटौडा नगरपालिकाको मेयर भइसकेका ७१ वर्षीय पौडेल यो पटक प्रदेशसभा सदस्य निर्वाचित हुनु भएको हो । उहाँले प्रदेश प्रमुख अनुराधा कोइरालाले पहिलो प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउनु हुनेछ । प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक दिउँसो १ बजे पछि बोलाइएको छ । प्रदेशसभाको बैठकमा भाग लिन ३ नम्बर प्रदेशका १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौडामा भेला भइसकेका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका साथै यस प्रदेशमा सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, नुवाकोट, धादिङ, रसुवा र चितवन जिल्ला समेटिएका छन् । प्रदेश ३ मा ११० सदस्यीय संसद छ । यो सातै प्रदेशमध्ये सबैभन्दा ठूलो प्रदेशसभा हो । यो प्रदेशसभामा एमालेको एकल बहुमत छ भने संसदमा कांग्रेस, एमाले, माओवादी, विवेकशील साझा, नयाँशक्ति, राप्रपा, नेमकिपा र राप्रपा प्रजातान्त्रिक समेत ८ दलको प्रतिनिधित्व छ ।