१५ चैत्र २०८०, बिहीबार
Follow Us

सरकारी वृद्धाश्रम दाताको सहयोगमा धानिँदै

नेपालब्रिटेन डट कम्
१९ माघ २०७४, शुक्रबार ०७:२३

चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा सरकारी तवरबाट सञ्चालित वृद्धाश्रम दाताको सहयोगबाट धानिएको छ । विगत केही वर्षयतासम्म सरकारी बजेटको अभावमा दैनिक खाद्यान्न जुटाउन कठिन परेको देवघाट समाज कल्याण केन्द्रमा पछिल्ला वर्षमा खाद्यान्न र लत्ताकपडा किन्नु परेको छैन । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको यस केन्द्रमा नौ वृद्ध र १९ जना वृद्धा रहेका छन् ।

केन्द्रको व्यवस्थापन हेर्दै आउनुभएका ढकराज कोइरालाका अनुसार चार वर्षअघिसम्म बजेटको अभावमा वृद्धवृद्धालाई पालन पोषणका लागि विभिन्न ठाउँमा गुहार्नुपथ्र्याे । विसं २०५२ मा स्थापना गरिएको केन्द्रमा वार्षिक रु २५ लाख हाराहारी खर्च हुने गर्छ ।

गतवर्ष दाताले पुण्यतिथि, जन्मदिन, स्मृति दिन, वैवाहिक गठबन्धनका दिन वृद्धवृद्धाका लागि खानाका लागि दिएको रकममात्र रु १३ लाख ४९ हजार जम्मा भएको कोइरालाले बताउनुभयो । यसका अतिरिक्ति दाताले चामल, तेल र आवश्यक सम्पूर्ण लत्ताकपडा उपलब्ध गराउने गर्छन् ।

कोइरालाले भन्नुभयो, “विगत चार वर्षदेखि कपडा किन्नु परेको छैन भने तीन वर्षदेखि चामल किनिएको छैन ।” दाताहरुले विशेष दिनमा वृद्धवृद्धालाई विशेष खाना खुवाउन चाहेमा एक दिनको रु छ हजार दिनुपर्ने हुन्छ । सादा खानाको रु पाँच हजार तिर्नु पर्छ । विशेष खानामा पनिर, घ्यूू, बासमती चामल र दूधसमेत रहने उहाँले बताउनुभयो ।

आफ्नो विशेष दिनमा खाना खुवाउने ११० जना नियमित रहेका छन् भने अन्य दिनहुँजसो आउने गर्छन् । क्षेत्र विकास समितिले सम्बन्धित स्थानीय निकायको सिफारिसमा पालनपोषण गर्ने आफन्त नभएका ६५ वर्ष नाघेका वृद्धा र ७० वर्ष नाघेका वृद्धलाई वृद्धाश्रममा राख्दै आएको छ । ती वृद्धवृद्धाका लागि कतिपय दाताले नगद सहयोग पनि गर्ने गर्छन् ।

दाताले दिएको रकम र आफूले पाउने वृद्धभत्ताबाट कतिपयले आफूलाई मन परेका खानेकुरा खाने र आफू र आफ्ना श्रीमान् वा श्रीमतीको जन्मदिन, पुण्य तिथिमा सँगै रहेका अरुलाई खाना खुवाउनेसमेत गर्छन् ।

सरकारी तबरबाट महिला विकास कार्यालयमार्फत बजेट निकासा हुने भए पनि न्यून बजेटमात्र आउने गरेको देवघाट क्षेत्र विकास समितिका पुराना कर्मचारी किरण पौडेलले बताउनुभयो । गत आर्थिक वर्षमा रु पाँच लाखमात्र प्राप्त भएको थियो ।

देवघाट क्षेत्र विकास समितिका ओभरसियरसमेत रहनुभएका पौडेलका अनुसार आउँदो वर्षबाट दोब्बर क्षमतामा वृद्धाश्रम सञ्चालन गर्न पुग्ने गरी संरचना निर्माण गरिँदैछ । वृद्धवृद्धालाई पालन पोषणका लागि सहयोग गर्न समितिका छजना कर्मचारी परिचालन भएका छन् ।

उनीहरुको स्वास्थ्य उपचार, त्यही अगाडि रहेको अस्पतालमा हुने गरेको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले पछिल्लो समय वृद्धवृद्धालाई मायाँ गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा आर्थिक अभावमा रहेको केन्द्र दाताको सहयोगमा सहज सञ्चालन भएको बताउनुभयो ।

केन्द्रमा थप वृद्धवृद्धा राखेर उनीहरुलाई राम्रो पालनपोषण गर्ने क्षेत्र विकास समितिको उद्देश्य रहेको उहाँले बताउनुभयो । दाताकै सहयोगका कारण केन्द्र सञ्चालन गर्न क्षेत्र विकास समिति तड्पनु नपरेको उहाँको भनाइ छ ।