१६ चैत्र २०८०, शुक्रबार
Follow Us

साउदीमा कोमामा रहेका श्रीबहादुरको परिवारको वेदना ; दाजुबहिनी नै मानसिक बिरामी

sarusaru
२० माघ २०७४, शनिबार ०३:४३

भद्रपुर (झापा) — झापा, भद्रपुरका श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कोमामा छन्, त्यो पनि विदेशी भूमिमा । कतारको हमाद अस्पतालमा रहेका ३७ वर्षे नेम्वाङको खबर उनका आफन्तलाई थाहा नभएको होइन । सबै जान्दाजान्दै पनि उद्धार गरेर घर ल्याउन नेम्वाङ परिवारसँग उपाय छैन । आर्थिक अवस्था पनि ज्यादै नाजुक छ ।

नेम्वाङका भाइ मन्दिर र बहिनी भावना । तस्बिर : कान्तिपुर

नेम्वाङका आमाबुबा बितिसके । दुइटी बहिनी र एउटा भाइ छन् । बहिनीको बिहे भइसकेको छ । जेठी बहिनीको हालत पनि श्रीबहादुरकै जस्तो छ । वैदेशिक रोजगारीमा खाडी पुगेकी उनको त्यहाँबाट फर्किएलगत्तै मानसिक सन्तुलन गुमेको बहिनी भावनाले बताइन् । ‘विगत १० वर्षदेखि दिदीलाई स्याहारेर बसेकी छु,’ भद्रपुर, घोडामाराकी भावनाले भनिन्, ‘अब कोमामा रहेका दाजु पनि ल्याएर स्याहार्ने स्थिति छैन ।’

आमाबुबाको निधनपछि भावनाले दिदी र भाइ मन्दिरलाई पनि आश्रय दिएकी छन् । ‘आफन्त नातागोता त धेरै छन्,’ भावनाले सुनाइन्, ‘तर, कोमामा रहेका दाजुलाई घर ल्याउन कसैलाई मतलब छैन ।’ श्रीबहादुर विदेश उडेको करिब १७ वर्ष भयो । त्यसयता घर फर्किनै पाएका छैनन् । गएको तीन वर्षपछि नै सडक दुर्घटनामा परेपछि उनी कोमामा छन् । ‘दाजु विदेश जाँदा म सानै थिएँ,’ भावनाले भनिन्, ‘घरमा साह्रो दु:ख थियो, हामीलाई सुख दिन्छुभनेर कमाउन जानुभएको, त्यस्तो घटना भयो ।’
भावनाले दाजुको नागरिकताको तस्बिर मात्रै देखेकी थिइन् । कान्तिपुरको शुक्रबारको अंकमा प्रकाशित श्रीबहादुरको पछिल्लो तस्बिर उनले निकैबेर नियालिरहिन् । बोल्दाबोल्दै उनको गला अवरुद्ध भयो । ‘यस्तो हुनुभएछ मेरो दाजु,’ भावनाले तस्बिर सुमसुम्याउँदै भनिन्, ‘दाजुलाई विदेशमै मर्नदिने मन त छैन ।’

श्रीबहादुर विदेश जाँदा मुलुक चरम द्वन्द्वमा थियो । युवा वैदेशिक रोजगारीमा जाने लहरै चलेको थियो । तत्कालीन महेशपुर १ का श्रीबहादुर स्थानीय एजेन्ट धनराज थेबेमार्फत कतार पुगेका थिए । कतारको अली रामदान ट्रेडर्समा श्रमिकका रूपमा काम थालेका थिए । ‘हामीसँग कहिलेकाहीँ भेटदा काम नराम्रो छ भन्थ्यो’, त्यस बेला कतारमै कार्यरत छिमेकी साजन लिम्बूले त्यो क्षण सम्झिए, ‘पछि भेटघाट पातलिँदै गयो, एक्कासि दुर्घटना भयो रे भन्ने सुनियो ।’ परिवारले उनको उद्धारका लागि निरन्तर प्रयत्न गरिरह्यो । तर, न सरकारले पहल गर्‍यो न त दूतावासले । ‘दाजुलाई नेपाल ल्याइदिन्छौं भन्ने धेरै आए,’ भाइ मन्दिर आक्रोश पोख्छन्, ‘तर, सबैले झूटा आश्वासन दिए ।’ मन्दिरका अनुसार पहिल्यै सरकारले उद्धार गरिदिएको भए दाजुलाई स्याहार्न सकिने अवस्था थियो । तर, अहिले घरको अवस्था नाजुक छ । ‘मआफैंदिदीभिनाजुकोमा आश्रयलिएर बसेको छु,’ उनी भन्छन्, ‘दाजुलाई ल्याएर कहाँ राख्ने, कसरी स्याहार्ने, के ख्वाउने ?’

परिवारले उनलाई विदेश पठाउँदा सयकडा ६ रुपैयाँका दरले काढेको ऋणको ब्याजले डाँडा काटिसक्यो । अहिले ब्याज बढेर झन्डै ४ लाखजति पुगेको छ । त्यो ऋण अझै तिर्न नसकेको भाइ मन्दिरले सुनाए । उनका अनुसार विदेश गएपछि श्रीबहादुरले एकपटक मात्रै पैसा पठाएका थिए । ‘बुबा बिरामी भएर साह्रै हुँदा ३२ हजार रुपैयाँ पठाएजस्तो लाग्छ,’ उनले भने, ‘आमा र दिदीले सदरमुकाम (चन्द्रगढी) पुगेर पैसा लिएर आउनुभएको थियो । त्यसपछि त दुर्घटना भइहाल्यो, पैसा पठाउनै पाउनुभएन ।’ छोरा दुर्घटनामा परेर अचेत भएको चिन्ताले आमाबुबा दुवै बिते । लेबनान गएकी जेठी छोरी त्यहाँ चरम यातना पाएपछि मानसिक सन्तुलन गुमाएर फर्किइन् । नेम्वाङ परिवार अहिले छिन्नभिन्न छ । उनीहरू २०३० को दशकमै चरम गरिबीबाट बच्न पाँचथरबाट झापा झरेका थिए । महेशपुर र पृथ्वीनगर क्षेत्रमा झोडा फाँडेर बस्ती बसाउनेमध्ये श्रीबहादुरका बुबापनि हुन् ।

भावनालाई दाजुको अनुहारको बनोट पनि राम्रो याद छैन अहिले, तर तिहारमा सधैं उनको सम्झनाले सताउँछ । दुवै दाजुभाइलाई एकसाथ टीका लगाइदिने इच्छा छ उनको । ‘तर, भविष्यमा पनि पूरा हुने हो कि होइन, सपनामा कहिलेकाहीँ दाजुलाई ठूलो बिल्डिङमा काम गरिरहेको देख्छु,’ उनले भनिन् ।
– कान्तिपुरबाट ।