१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ब्रसेल्स मेलामा नेपालमण्डप मुख्य आकर्षण

नेपालब्रिटेन डट कम्
२० माघ २०७४, शनिबार ११:४३

काठमाडौं । गत बिहीबारदेखि बेल्जियमको राजधानी ब्रसेल्समा जारी ‘६०औं ब्रसेल्स हलिडे फेयर’मा नेपालका प्राकृतिक छटायुक्त नेपालमण्डप मुख्य आकर्षणको केन्द्र बनेको छ । नेपालका हिमच्छादित टाकुराका मनोरम दृश्य, पर्यटकीय गन्तव्यका प्रमुख स्थलहरुका तस्बिर, वुद्धको विशाल मूर्ति, ब्यानर र प्लाकार्ड, पोष्टरजस्ता पर्यटन प्रवद्र्धनका सामग्रीले सजिएको नेपालमण्डप पाहुनाहरुको आकर्षणको केन्द्र बनेको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

बेल्जियम–नेपालमैत्री संघसँगको सहकार्यमा नेपाली दूतावासको संयोजनमा नेपालको सांगीतिक समूह ‘द रक एण्ड सिद्धी’को रोमाञ्चक प्रस्तुतीले नेपालमण्डपलाई थप आकर्षक तुल्याएको थियो ।

स्थानीय कलाकारसहितको आजको सांगीतिक एवं प्रस्तुतिमा मेला अवलोकन गर्ने पाहुनाको मुख्य आकर्षण नै नेपालमण्डप बनेको छ । उक्त मण्डपमा नेपालको यात्रा गर्न चाहने युरोपेली नागरिकका लागि यथेष्ट ‘नेपाल यात्रासम्बन्धी विवरण’ नेपालको प्रतिष्ठित पर्यटन व्यवासयी संस्थाले प्रदान गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालमण्डपमा नेपालका मौलिक उत्पादन चिया र कफीको बिक्री प्रवद्र्धनका साथै चिया कफीका पारखीले त्यसको स्वाद लिइरहेका छन् । भोलि आइतबार समापन हुने उक्त मेलाको दशौं हजारले अबलोकन गरिसकेका छन् ।

बेल्जियम सरकारका मन्त्रिपरिषद्का सदस्य, ब्रसेल्स महानगरका प्रमुख, बेल्जियम र अन्य युरोपेली मुलुकका विशिष्ट व्यक्तित्व र मेला आयोजक समितिका अध्यक्षलगायतले गत बिहीबार मेला उद्घाटनका क्रममा नेपालमण्डपको अवलोकन गर्नुभएको थियो ।
दूतावासका अनुसार आगन्तुक विशिष्ट पाहुनाहरुलाई नेपाल सरकारका तर्फबाट नेपालीपन झल्काउने ‘मायाको चिनो’ नेपाली राजदूतले प्रदान गर्नुभएको थियो ।

यसैबीच, यही माघ ११ देखि १४ गतेसम्म बेल्जियममा नै आयोजित ‘एन्ट्रेप एक्पो’को ४०औं संस्करणमा नेपालले भाग लिएर ७३ हजारभन्दा बढी आगन्तुकलाई नेपालसम्बन्धी जानकारी प्रदान गर्दै व्यापार र पर्यटनमा प्रवद्र्धनका विविध गतिविधि सञ्चालन गरेको थियो ।

बेल्जियम–नेपालमैत्री संगठन, बेल्जियमस्थित गैरआवासीय नेपाली संघ, बेल्जियम–नेपालमैत्री संघ, नेपालका मित्र, स्वयमसेवकलगायत दुवै मेलामा नेपालको गौरव र गरिमा उजिल्याउन सहयोग गर्ने सबैमा दूतावासले हार्दिक आभार व्यक्त गरेको छ ।