७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेश राजधानी माग्दै वीरगञ्ज बन्द

नेपालब्रिटेन डट कम्
२१ माघ २०७४, आईतवार ०७:०४

वीरगञ्ज । दुई नम्बर प्रदेशको राजधानी नबनाइएको विरोधमा आज वीरगन्ज बन्द छ । वीरगञ्ज राजधानी संघर्ष समितिले आब्हान गरेको वन्दका कारण वीरगञ्जको जनजीवन विहानैदेखि प्रभावित भएको छ । आन्दोलनकारीले बिहानैदेखि घण्टाघर, माइस्थान, मुर्ली लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका कारण वीरगन्जको मुख्य सडक, पसल बजार बन्द रहेका छन ।

प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको बी आर शून्य पाँच एच ए तीन शून्य चार शून्य नम्बरको स्कारपिओ जीपमा तोडफोड गरेका छन् । बन्दमा अप्रिय घटना हुनसक्ने भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आज जनकपुरमा बस्न लागेको प्रदेश नम्बर दुईको प्रदेशसभाको पहिलो बैठकविरुद्ध वन्द आब्हान गरिएको हो ।

प्रदेश राजधानीको माग गर्दै वीरगन्जमा डेढ महिनादेखि चलिरहेको आन्दोलन, सरकारले अस्थायी राजधानी जनकपुरलाई तोकेपछि झन चर्कदै गएको छ । माघ तीन गते सरकारले जनकपुरलाई अस्थायी राजधानी तोकपछि माघ चार गतेवाट विरगञ्जमा निरन्तर आन्दोलन हुँदै आएको छ । पुस एक्काइस गतेदेखि निरन्तर चलिरहेको रिले अनशनसहितको आन्दोलनका भावी कार्यक्रम तय गर्न आज साँझ संघर्ष समितिको बैठक बस्दैछ ।