१५ चैत्र २०८०, बिहीबार
Follow Us

सत्ताको प्रलोभनमा नयाँ गठबन्धन : एमाले

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७३, शुक्रबार १४:२८

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकमा केही नेताले विभिन्न शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन बनेको बताउनुभएको छ । यही आइतबारदेखि जारी एमाले बैठकमा आज आफ्नो नेतृत्वमा गठित सरकार र त्यसले गरेका काम, अघिल्लो राजनीतिक समीकरणमा परिवर्तन र नयाँ समीकरण निर्माण, पार्टीको आन्तरिक क्रियाकलाप र आगामी कार्यभार लगायतका विषयमा समीक्षात्मक धारणा राख्ने क्रममा सो कुरा बताइएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसेको बैठकमा एमालेले दीर्घकालसम्म सो गठबन्धन कायम राख्न चाहे पनि शक्ति केन्द्रको प्रलोभनका कारण नेकपा (माओवादी केन्द्र) लाई नयाँ ठाउँमा पु¥याएकाले नै समीकरण बदलिएको धारणा राखिएको छ ।

बैठकमा आज नेता विष्णु पौडेल, सुवास नेम्वाङ र छविलाल विश्वकर्माले आआफ्ना धारणा राख्नुभएको पार्टीका सचिव योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

संविधान निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको, पार्टी नेतृत्वको सरकारले जनता र राष्ट्रका पक्षमा सकारात्मक काम गरेको, नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलित रुपमा परिचालन गरेको, राष्ट्रको आर्थिक समृद्धिका पक्षमा जनतामा आत्मविश्वास बढाएको लगायतका उपलब्धि हासिल भएको वक्ताले जनाउनुभएको थियो ।

सामान्य कमिकमजोरीलाई पार्टीले आगामी दिनका लागि शिक्षाका रुपमा ग्रहण गर्दै पार्टीलाई वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक क्षेत्रबाट एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने अभियानमा पार्टीलाई परिचालन गर्नुपर्ने बैठकले जोड दिएको छ । स्थायी समितिको बैठक यही भदौ ५ गते पुनःबस्नेछ ।