८ बैशाख २०८१, शनिबार
Follow Us

प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दै

sarusaru
२२ माघ २०७४, सोमबार ०४:३८

विराटनगर : बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन्। मर्यादापालक आआफ्नो स्थानमा एकै लहरमा उभिएका छन्। बाहिर र भित्र पनि उनीहरूको बाक्लो उपस्थिति छ।प्रदेश १ का ज्येष्ठ सदस्य ओमप्रकाश सरागवी सभामुखको सचिवालयबाट पश्चिमतर्फको प्रदेशसभा हलतर्फ बढे। मुख्य द्वारमा खटिएका मर्यादापालक सरागवीको आगमनसँगै सतर्क भए। सरागवी हलको दायाँ भागबाट सोझै सभामुखको टेबल भएतर्फ उक्लिए। उनी त्यहाँ रहेको अग्लो कुर्सीमा बसे अनि पहिलो प्रदेशसभा अधिवेशन सुरु भएको घोषणा गरे। त्यसपछि आरम्भ भयो प्रदेशसभाको कारबाही।

उनले प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त सन्देश पढेर सुनाए। प्रदेशसभाको पहिलो बैठकले पारित गर्नुपर्ने कार्यविधि, सभामुख÷उपसभामुखको निर्वाचन कार्यतालिका र सभामुखलाई सघाउने अध्यक्षमण्डलको नामावली पारित गर्न सदस्यसँग पक्ष र विपक्षमा मत मागे। त्यसपछि सांसदलाई बोल्ने समय दिइयो अनि अर्को बैठक माघ २९ गते तोक्दै ‘आजको सभा यहीं सकिएको घोषणा गर्दछु’ भन्दै उनले बैठक समापन गरे।

Maryada-Palak-2

प्रदेशसभा पहिलो बैठकका लागि रिहर्सल गर्दै मर्यादा पालक

मोरङ जिसस भवनको तल्लो तलामा आइतबार अपराह्न प्रदेशसभा अधिवेशनको ‘रिहर्सल’ गर्दाको दृश्य हो यो। सोमबार १ बजे सुरु हुने प्रदेशसभा अधिवेशनको तयारीस्वरूप यसको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य सरागवीले अन्तिम अभ्यास यसरी गरे।

चिटिक्क सजाइएको प्रदेशसभा हलमा प्रदेश सांसदका लागि आकासे नीलो रङको खोल हालिएको कुुर्सी व्यवस्थापन गरिएको छ भने त्यस मास्तिर पत्रकार, प्रतिनिधिसभा सदस्य र आमन्त्रित आगन्तुकका लागि सेतो। हललाई संघीय संसद्जस्तै गरी आकर्षक ढंगले सजाइएको सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख श्यामकृष्ण सिंहले बताए। ‘इन्टेरियर डिजाइन हामीले काठमाडौंको संघीय संसद्कै जस्तो बनाउने कोसिस गरेका छौं’, उनले भने।

हल नीलो रङको कार्पेटले निकै खुलेको देखिन्छ। रोस्ट्रम क्षेत्रमा हालिएको हल्का गुलाबी रङको सजावटले आकर्षण थपिदिएको छ। भित्ताको आधा भागसम्म हल्का खैरो रङ पोतिएको सनमाइका टाँसिएको छ। एक सय ४० सिट क्षमताको हल आकर्षक देखिन्छ। पंखा, एसी र अट्याच शौचालयको सुविधा पनि उपलब्ध छ।

यी सबै तयारीबीच प्रदेश १ को पहिलो प्रदेशसभा बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दै छ। प्रदेश प्रमुख तुम्बाहाङले अधिवेशन आह्वान गरेअनुरूप बैठक बस्न लागेको हो।

संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे सुरु भई बढीमा एक घन्टा ४५ मिनेटसम्म चल्नेछ। अधिवेशनको अध्यक्षता ज्येष्ठ सदस्य सरागवीले गर्नेछन्। अधिवेशनमा प्रदेश प्रमुखबाट प्राप्त सन्देश पढेर सुनाइनेछ। आइतबार ज्येष्ठ सदस्यलाई पनि संसद् सचिवालयका कर्मचारीले बैठक सञ्चालन विधिलगायत विषयमा जानकारी गराएका थिए।

आइतबार मर्यादापालकले रिहर्सल गर्नुका साथै सुरक्षाकर्मीले सुरक्षा प्रबन्धको विषयमा मिहीन ढंगले अध्ययन गरे। प्रदेश मुख्यसचिव यादवराज कोइरालाको नेतृत्वमा सुरक्षा अधिकारी सम्मिलित टोलीले हलको निरीक्षण गरी तयारीको विषयमा जानकारी लिएको छ। कोइरालाले भने,‘सुरक्षसहितका सबै तयारीमा हामी जुटेका छौं।’

संसद् सचिवालयका उपसचिव सर्वजित राईले प्रदेशसभा अधिवेशनलाई कार्यसूचीअनुसार सञ्चालन गर्न सबै तयारी भएको बताए। भने, ‘हल व्यवस्थापन, सुरक्षा प्रबन्धदेखि सबै तयारी भएको छ।’

पहिलो बैठकले मुख्यतः तीन प्रस्ताव पारित गर्ने तयारी छ। ती विषयमा सर्वदलीय बैठक बसेर दलले सहमति जुटाइसकेका छन्। प्रदेशसभा अधिवेशन सञ्चालन अन्तरिम कार्यविधि, सभामुख÷उपसभामुखको निर्वाचन र सभामुखलाई सघाउने अध्यक्षमण्डलको नामावली पहिलो बैठकले पारित गर्ने तयारी रहेको कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले जानकारी दिए। ‘यो बैठकले पारित गर्ने विषयमा हामीले सहमति जुटाइसकेका छौं’, उनले भने।

अधिवेशनको कार्यसूची तयार गर्न शनिबार सर्वदलीय बैठक बसेको थियो। माघ २९ गते दिउँसो १ बजे सभामुख र फागुन ३ गते उपसभामुखको निर्वाचन हुनेछ।

बैठकमा एमालेका भीम आचार्य, कांग्रेसका केदार कार्की, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, संघीय फोरमका जयराम यादव, स्वतन्त्र नारायणबहादुर मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे र राप्रपाकी इन्दिरा राईले शुभकामना मन्तव्य दिनेछन्। उनीहरूलाई पाँच–पाँच मिनेटको समय तोकिएको छ।

टेबल ठोक्न सिके सांसदले

पोखरा : प्रदेश ४ का सांसदहरूले पहिलो प्रदेशसभा बस्ने रिहर्सल गरेका छन्। पोखरा नगर विकास प्रशिक्षण केन्द्र नदीपुरमा स्थापित प्रदेशसभा हलमा रिहर्सल आइतबार गरेका हुन्।ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले पोखरामा आइतबार उपलब्ध सांसद डाकेर रिहर्सल गरेको जानकारी दिए। उनले भने, ‘मैले सभामुखको भूमिका निर्वाह गरें।’ ठूलो पार्टी एमाले र तेस्रो पार्टी माओवादीका सांसदहरू सभामुखको दायाँ र दोस्रो ठूलो पार्टी कांग्रेसका सांसद बसेका थिए। साना पार्टीका सांसद भने उनीहरुकै पछाडिपट्टिका सिटमा बसेका थिए।

‘भोलि (सोमबार) जे जे गर्ने हो त्यही सिकियो’, सांसद धनञ्जय दवाडीले भने, ‘राष्ट्रिय धुन बज्दा उठ्ने, सभामुखले पालो दिएपछिमात्र बोल्ने आदि।’ हलमा प्रवेश गर्नुअघि पुस्तिकामा उपस्थिति जनाउने, भित्र पस्नासाथ नबस्ने, राष्ट्रिय गान बजिसकेपछि मात्र कुर्सीमा बस्नेलगायत सिकेको अर्का सांसद हरिबहादुर चुमनले सुनाए। ‘प्रस्ताव पारित गर्दा हुन्छ भन्नेले हुन्छ भन्नुपर्ने, समर्थन गर्दा टेबुल ठोक्नेलगायत सिकियो’, उनले भने, ‘सभामुखले गर्नुपर्ने काम धेरै हुँदो रहेछ।’

Pokhara-Province-4-Sunday-pokhara

प्रदेश सभाको पहिलो बैठक बस्ने अघिल्लो दिन आइतबार सभाहल प्रवेश गर्न लामबद्ध प्रदेश ४ का सांसद ।

६० जना सांसद रहेको प्रदेश ४ मा ६ जनासँग मात्रै संसदीय अभ्यासको अनुभव छ। पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, मणिभद्र शर्मा, आशा कोइराला, कुमार खड्का र नरदेवी पुन यसअघि संविधानसभा सदस्य भइसकेका सांसद हुन्। पहिलो बैठकका कार्यसूचीबारे शनिबार सर्वदलीय बैठकले निर्णय गरेको थियो। प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि पारित गर्ने प्रमुख कार्यसूची छ। प्रदेशसभामा एमाले, कांग्रेस र माओवादी केन्द्रका ३÷३ र नयाँशक्ति र जनमोर्चाका १÷१ जना प्रतिनिधिले शुभकामना मन्तव्य राख्ने कार्यसूची छ।

एमालेबाट पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र सिर्जना शर्माले १०÷१० मिनेट मन्तव्य राख्ने उक्त पार्टीको आइतबारको संसदीय दलको बैठकले तय गरेको छ। कांग्रेसका तर्फबाट कृष्णचन्द्र नेपाली, दोबाटे विश्वकर्मा र ललितकला गुरुङले र माओवादी केन्द्रबाट नेत्रलाल अधिकारी, हरिबहादुर चुमान तथा गायत्री गुरुङले मन्तव्य राख्नेछन्। सोमबारको बैठकमा बोल्न कांग्रेसले १७ र माओवादीले १४ तथा अरु साना पार्टीले ५÷५ मिनेट पाएका छन्। ६० सांसद रहेको प्रदेश ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र १ स्वतन्त्र सांसद छन्।

मुख्यमन्त्री २८ गते !

प्रदेश ४ को प्रदेश सरकार गठनका लागि एमालेले माघ २८ गते संसदीय दलको नेता चयनको मिति तोकेको छ। एमाले सांसदहरूको आइतबार पोखरामा बसेको बैठकले मिति तय गरेको हो।

बैठकले नेता सोमनाथ अधिकारी प्यासी संयोजकत्वमा निर्वाचन कमिटीसमेत गठन गरेको छ। कमिटीमा अधिवक्ताद्वय सुरेन्द्र थापामगर र कमल अर्याल सदस्य छन्। दलको नेता छान्न संसदीय दलको बैठक २८ गते बस्ने निर्णय गरेको जानकारी एक एमाले सांसदले दिए। उनकै भनाइमा पार्टी केन्द्रले संसदीय दलको नेता सकेसम्म सर्वसम्मत र नभए प्रजातान्त्रिक विधिबाट चुन्न भनेको छ।

प्रदेश ४ मा चुनावी गठबन्धनको अर्काे दल माओवादी केन्द्रसँग मिलेर एमालेले सरकार गठन गर्दैछ। दुई पार्टीबीच मुख्यमन्त्री एमाले र सभामुख माओवादीले लिने सहमति पनि भइसकेको छ। मुख्यमन्त्रीका लागि एमालेभित्रै २ जना आकांक्षी छन्। पार्टी सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा र प्रदेश कमिटी संयोजकसमेत रहेका स्थायी कमिटी सदस्य किरण मुख्यमन्त्रीका दाबेदार हुन्।

प्रदेश कमिटी संयोजक स्वाभाविक रुपमा यहाँको संसदीय दलको नेता हुने दाबी किरणले गरिरहेका छन्। आफू पार्टीमा पुरानो भएको पनि उनको दाबी छ। पृथ्वीसुब्बा भने अहिले पार्टीमा आफू सिनियर रहेको र मुख्यमन्त्री बन्नकै लागि प्रदेश सभा चुनाव लडेको बताउँदै आएका छन्। दुवैजना पार्टीका सांसदहरुबीच चुनाव हुँदा पनि आफैले जित्ने दाबी गर्छन्। पृथ्वीसुब्बा पार्टी अध्यक्ष केपी र किरण उपाध्यक्ष वामदेव गौतमनिकट मानिन्छन्। प्रदेश ४ मा ६० सांसद छन्। तीमध्ये एमाले २७, कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३, नयाँशक्ति २ र १ स्वतन्त्र छन्
– अन्नपूर्ण पोष्टबाट ।