१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भैरवस्थान जाने तीर्थयात्रीको लागि आकासे पानी सङ्कलन

sarusaru
२२ माघ २०७४, सोमबार ०५:०३

उच्च पहाडमा रहेको भैरवस्थान मन्दिरको लागि आकासे पानी संकलन गरी खानेपानीको व्यवस्थापन हुने भएको छ । जिल्लाको महत्वपुर्ण धार्मिक पर्यटकीय स्थल भैरवस्थानमा खानेपानीको चरम अभाव छ । उच्च पहाडमा रहेको मन्दिरमा आसपासमा पानीका मुहान नरहेको र मन्दिरभन्दा उचाई रहेको भाग निकै टाढा रहेकाले मन्दिर पुग्ने दर्शनार्थीले पानीको समस्या भोग्दै आएका छन् ।
नजिकैका साना–साना मुहान बर्षातको समयमा पानी हुने र हिउँदको समयमा सुक्ने भएकाले मन्दिर लगायत मन्दिरको आसपासको बस्तीका लागि आकाशे पानी संकलन गरेर खानेपानीको व्यवस्थापन गर्न लागिएको हो । अमलाचौर बर्षातको पानी संकलन आयोजनामार्फत मन्दिर तथा आसपासका बस्तीहरुमा खानेपानीको प्रबन्ध मिलाउन लागिएको खानेपानी डिभिजन कार्यालय बागलुङले जनाएको छ । आयोजना अन्र्तगत भैरवस्थान मन्दिर नजिक बनेको २० हजार लिटर क्षमताको ट्याङ्कीमा पानी संकलनका लागि नजिकमा ठुलो छानो भएका घर नभएकाले पानी संकलनका लागि मात्रै टिनको छानाको व्यवस्था मिलाईने आयोजना ईन्जिनीयर तथा खानेपानी डिभिजन कार्यालयका सूचना अधिकारी जनकराज गौडेलले जानकारी दिए ।
मन्दिरको लागि खानेपानीको व्यवस्थापन गर्न भकुण्डेको जंगलमा रहेको सानो पानीको मुहान, अमलाचौर र पैयुँपाटाको सिमानामा रहेको सानो पानीको मुहान र देउमाणीमा रहेको पानीको मुहानलाई समेत एकतृत गर्दै छानाबाट संकलन भएको पानीमा मिसाउने योजना रहेको गौडेलले बताए । देउमाणीको पानी मन्दिर नजिक रहेको ट्याङ्कीबाट १ सय मिटर तल रहेको भएपनि मोटर लगाएर माथि तान्ने योजना रहेको बानपा–१२ का वडा अध्यक्ष गुरुदत्त पाठकले बताए । ‘मुहानको पानीले मात्रै पुग्दैन’ पाठकले भने ‘छानाको पानी र मुहानको पानी मिलाएर खानेपानीको व्यवस्थापन गर्ने योजनामा छौं ।’ देउमाणीको मुहानको पानी स्थानिय केही घर परिवारले प्रयोग गर्दै आएको भएपनि त्यसलाई व्यवस्थापन गरेर मन्दिर र नजिकैको गाउँलाई पुग्ने गरी योजना बनाईएको पाठकले बताए । कुल १ करोड ५० लाख ६३ हजार २ सय ७८ रुपैयाँको लागतमा बन्न लागेको आयोजनाको काम आर्थिक बर्ष २०७२÷०७३ बाट सुरु भएको कार्यालयले जनाएको छ ।
अमलाचौरका ५ सय १७ घरधुरी र धार्मिक पर्यटकीय स्थल भैरवस्थानको मन्दिर लाभान्वित हुने गरी बनाईएको योजनाको २० प्रतिशत काम सकिएको इन्जिनियर गौंडेलले बताए । ‘२० हजार लिटर क्षमताका चार ट्याङ्की निर्माणको काम सकिएको छ’ गौंडेलले भने ‘क्रमागत योजना भएकाले क्रमशः काम अगाडि बढिरहेको छ ।’ आयोजना अन्र्तगत २० हजार १० हजार लिटरका गरी ३६ वटा ट्याङ्की निर्माणको योजना रहेको गौंडेलले बताए । ‘बस्तीको बीचमा बनाईने ट्याङ्कीहरुमा बर्षात्को पानी जाने व्यवस्था मिलाईएको हुनेछ’ गौंडेल भन्छन्– ‘छानाको पानी सिधै ट्याङ्कीमा जाने गरी अनुकुल पर्ने ठाउँहरुमा ट्याङ्कीको निर्माण गरिने छ ।’ छानाको पानी संकलन गरेर खानेपानीको रुपमा प्रयोग गर्ने व्यवस्था गरिए पनि पानी शुद्धिकरणको लागि भने सामान्य फिल्टरको मात्रै व्यवस्था रहेको गौंडेलले बताए । अमलाचौरको उपल्लो भागमा रहेका बस्तीहरुमा अहिले पनि हिउँदको समयमा खानेपानीको समस्या रहेको छ ।
बर्षात्को समयमा पानी हुने भएपनि हिँउदको समयमा मुल सुक्ने समस्याले पानीको अभाव रहेको वडाध्यक्ष पाठकले बताए । बर्षात्को पानी संकलन आयोजना निर्माण सम्पन्न भए स्थानियलाई सहजता हुने अपेक्षा गरिएको छ ।
– ढोरपाटन दैनिकबाट ।