७ बैशाख २०८१, शुक्रबार
Follow Us

बायोमेडिकल राज्यले चिनेन

नेपालब्रिटेन डट कम्
२२ माघ २०७४, सोमबार १२:३०

ई.भावना बराल, बायो मेडिकल

उपचार विधि प्रविधिको सहयोगबिना सम्भव हुँदैन । प्रविधिको सहयोगले डाक्टरले रोग पत्ता लगाएपछि उपचार गर्छन् । डाक्टरले उपयोग गर्ने प्रविधिलाई बायोमेडिकल इन्जिनियरिङ भनिन्छ । बायोमेडिकल विषयमा इन्जिनियरिङ गरेकी भावना बराल प्रविधिबिना उपचार कल्पना पनि गर्न नसकिने बताउँछिन् । यस्तो महत्वपूर्ण विषय बायोमेडिकललाई राज्यले कसरी हेरेको छ भन्ने बारेमा बरालसँग कुमार राउतले गरेको कुराकानी ः

० बायोमेडिकल इन्जिनियरलाई कसरी बुझ्ने ?
– यसको क्षेत्र व्यापक छ, त्यसैले यहाँ दुई शब्दमा भन्दा न्याय नहोला । तर सामान्य भाषामा भन्दा उपचारमा डाक्टरलाई सहयोग पु¥याउने मेसिनरी उपकरणको निर्माण, सञ्चालन र मानिसमा प्रयोग गरिने कृत्रिम अंगको निर्माणलगायतलाई बुझ्दा हुन्छ । विरामीको उपचारमा डाक्टरलाई सहयोग पु¥याउने प्रविधिलाई बायोमेडिकल इन्जिनियर भनिन्छ ।

० डाक्टरले प्रयोग गर्ने उपकरण भन्न खोज्नुभएको हो ?
– हो, एमआरआई, सिटीस्क्यानदेखि लिएर एक्सरे मेसिनलगायत स्वास्थ्य परीक्षणका लागि प्रयोग गरिने उपकरणहरू सञ्चालन र अद्यावधिक गर्ने काम बायोइन्जिनियरले गरेका हुन्छन् ।

० उपचारमा प्रयोग हुने सामग्री बाहिरबाट आउँछन्, होइन ?
– हो, नेपालमा उपचारमा प्रयोग हुने उपकरण निर्माण हुँदैन, सबै विदेशबाट झिकाउनुपर्छ ।

० बाहिरबाट ल्याएको सामग्री इन्जिनियरले के गर्छन् ?
– मेसिन अद्यावधिक राख्ने, सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्ने, त्यसको काम र उपयोगिताबारे डाक्टरसँग परामर्श गर्नेलगायत धेरै कामहरू हुन्छन् । विश्वमा भइरहेको प्रविधिको विकासबारे जानकारी दिनुपर्छ । मेसिन ल्याएर मात्र हुँदैन, कस्तो र कुन किसिमको आवश्यकता हो, त्यसबारे पनि डाक्टरलाई बुझाउन सक्नुपर्छ ।

० यस्ता उपकरण सरकारीभन्दा निजीमा गुणस्तरीय छन् ?
– होइन, गुणस्तरीय र सुलभ ढंगले सरकारी अस्पतालमा पाइन्छ । शिक्षण अस्पताल र वीर अस्पतालमा जति उपकरण छन्, ती निजी क्षेत्रमा छैनन् ।

० एक्सरे गर्न त निजी क्लिनिकमा पठाउँछन् ?
– सरकारी अस्पतालमा सेवाग्राही अत्याधिक हुन्छन् । उनीहरूलाई सेवा दिने क्रममा कसैलाई अगाडि, कसैलाई पछाडि राख्नुहुँदैन । विरामीको वस्तुस्थिति हेरेर अस्पतालले उपचार गरिरहेको हुन्छ । अहिले धेरै सुविधा सरकारी अस्पतालले उपलब्ध गराएको छ ।

० सरकारी अस्पतालले मेसिन बिगार्ने, सेवा नदिने समाचार पढ्न पाइन्छ नि ?
– त्यो व्यक्तिको नियतमा भर पर्ने कुरा हो । सेवा भावनाले काममा समर्पितहरू पनि अस्पतालमा हुन्छन् । नियत खराब भएको एक व्यक्तिको पछि लागेर अस्पताललाई नै बद्नाम गर्नु गलत होजस्तो लाग्छ ।

० एक्सरेको फ्युज फेर्न महिनौं लाग्छ त ?
– लाग्दैन, फ्युजलगायतका सामान्य कुरा हिजोआज अस्पतालमा तुरुन्तै हुन्छ । अस्पतालसँग ब्याकअप हुन्छ । तर ठूलो रकमको सामान फेर्नुपर्दा टेन्डर आह्वान गर्नुपर्छ । टेन्डर आह्वान गर्दा केही समय त लाग्ने नै भयो ।

० ठूलो मूल्यको उपकरण किन्दा घोटाला हुन्छ भन्ने सुनिन्छ नि ?
– आवश्यक पर्ने उपकरणको टेन्डर आह्वान गरिएको हुन्छ । टेन्डर जसले पार्छ, उसले नै सामग्री उपलब्ध गराउने हो । तोकिएको मापदण्डभित्र जसले कम मूल्यमा उपकरण उपलब्ध गराउँछ, त्यही नै अस्पतालले किन्छ ।

० कति छन् यस्ता उपकरण उपलब्ध गराउने कम्पनी ?
– त्यसको तथ्यांक त मलाई थाहा छैन, तर पहिलेभन्दा पछिल्लो समयमा यस्ता कम्पनी धेरै भएजस्तो लाग्छ । प्रतिस्पर्धाले गर्दा गुणस्तरमा सुविधामा वृद्धि भएको चाहिँ पक्कै हो ।

० कुन कम्पनी प्राथमिकतामा पर्छ ?
– मापदण्ड तोकेर टेन्डर आह्वान गरिन्छ, जसले सुलभ, गुणस्तर र सेवा बढी दिन्छ, त्यही कम्पनीको सामग्री ल्याउने हो । कम्पनी विशेषले कुनै अर्थ राख्दैन ।

० बायोमेडिकल पढ्न के कुराले पे्ररित ग¥यो ?
– डाक्टर पढ्ने इच्छा थियो, थोरै समस्याले गर्दा सम्भव भएन । डाक्टरसँगै रिलेटेड बायोइन्जिनियरिङ पढेर पनि सेवा दिन सकिन्छ भन्ने लाग्यो ।

० डाक्टर पढ्न नपाएको असन्तुष्टि मेटियो ?
– यो पेसाप्रति म सन्तुष्ट छु । इन्जिनियरिङलगायत मेडिकलसम्बन्धी ज्ञान पनि त्यत्तिकै हुँदो रहेछ ।

० निजी कलेज पढ्नुभएको हो ?
– हो, बायोइन्जिनियरिङ अध्यापन गराउने हाँडीगाउँमा एउटा मात्र बायोमेडिकल कलेज छ । मैले पनि त्यहीँ पढेको हुँ ।

० महँगो होला नि ?
– सामान्य हो, अरु इन्जिनियरिङको पढाइसरह नै खर्च हुन्छ । पासआउट हुँदा त्यस्तै सात–आठ लाख रुपैयाँ खर्च भएको थियो ।

० तपाईं कतिऔं ब्याच ?
– सातौं ब्याचकी हुँ ।

० पढाइ सकिएपछि रोजगारी पाइन्छ ?
– नेपालमा नयाँ भएकाले अहिलेसम्म रोजगारीको कुनै समस्या भएको छैन । यद्यपि राज्यले बायोमेडिकललाई सम्बोधन नगरेकाले लोकसेवा आयोगले अहिलेसम्म मागेको छैन ।

० अहिलेसम्म पासआउट भएकाले कहाँ रोजगारी पाए ?
– बायोमेडिकल इन्जिनियर अस्पतालमा मात्र सीमित रहँदैनन् । यसको क्षेत्र व्यापक भएकाले धेरैतिर इन्गेज हुन्छन् । धेरै चाहिँ विशेषज्ञता हासिल गर्न विदेश जान्छन् भने औषधि उत्पादक कम्पनीमा रोजगार हुन्छन् ।

० राज्यले चिन्दैन बायोमेडिकल इन्जिनियरलाई ?
– चिन्दैन भन्न मिल्दैन होला । किनभने सेना र प्रहरीले त्यस्तो जनशक्ति लिन्छ । राज्यले पनि करार सेवामा लिन्छ । बायोमेडिकल इन्जिनियर भनेर लोकसेवा आयोगले अहिलेसम्म जनशक्ति मागेको छैन । बायोमेडिकललाई इलोक्ट्रोनिक इन्जिनियरसँग जोडिर हेरिएको छ । राज्यलाई यससम्बन्धी बुझाउने मान्छेको अभावले लोकसेवाले दरबन्दी सिर्जना गरेको छैन ।

० यो क्षेत्रमा महिलालाई काम गर्न सजिलो छ ?
– महिलालाई हेर्ने नेपाली दृष्टिकोणमा खासै परिवर्तन भएजस्तो लाग्दैन । यो इन्जिनियरिङ काम महिलाले गर्न सक्छन् र भन्ने व्यक्तिहरू भेटिन्छन् । त्यो भनेको महिलाप्रतिको अविश्वास हो ।

० विश्वास दिलाइदिनुभयो ?
– अहिलेसम्म त्यस्तो सिकायत आएको छैन, बरु प्रशंसा पाएकी छु । पेसाप्रति सन्तुष्ट छु, सन्तुष्टि दिएको छु भन्ने मलाई लाग्छ ।

० दुखेसो पनि होला नि ?
– पेसाप्रति गुनासो, दुखेसो केही छैन । तर यो विषयमा राज्यको पनि ध्यान पुगे राम्रो हुन्थ्यो भन्ने लाग्छ ।