१३ बैशाख २०८१, बिहीबार
Follow Us

चिकित्सा शिक्षा आयोगका लागि नाम सिफारिस गर्ने जिम्मेबारी लोकसेवालाई

नेपालब्रिटेन डट कम्
२२ माघ २०७४, सोमबार १३:३६

काठमाडौं । चिकित्सा शिक्षा आयोगलाई पुर्णता दिन लोकसेवा आयोगलाई नाम सिफारिसको जिम्मेबारी दिइएको छ । आज बालुवाटारमा बसेको आयोगका पदेन सदस्यहरुको पहिलो बैठकले आयोगलाई पुर्णता दिने निर्णय गर्दै आयोगका उपाध्यक्ष र पदेन बाहेकका सदस्यको नाम सिफारिसको जिम्मेबारी लोकसेवा आयोगलाई दिएको हो ।

चिकित्सा शिक्षा आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री शेरवहादुर देउवाको संयोजकत्वमा बसेको बैठकले आयोगको कार्यालय तत्काल शिक्षा मन्त्रालयमा राख्ने निर्णय पनि गरेको छ । आयोगको कार्यकारी अधिकार उपाध्यक्षमा रहने व्यवस्था छ । आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न तीन सदस्यीय समिति बनाइएको थियो ।

चिकित्सा शिक्षा अध्यादेशमा चिकित्सा शिक्षामा विशिष्ट योगदान पुयाएका चिकित्सकहरु मध्येबाट सरकारले उपाध्यक्ष नियुक्ती गर्ने व्यवस्था छ । आयोगमा पदेन बाहेकका अन्य सदस्य पनि नियुक्त हुन बाँकी छ । डाक्टर गोविन्द केसीका माग र माथेमा कार्यदलको सुझाबका आधारमा शिक्षण संस्थाको नियमन गर्न र चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ ल्याएको थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने समितिमा शिक्षा र स्वास्थ्य मन्त्री सहअध्यक्ष रहने व्यवस्था छ । अन्य सदस्य भने योजना आयोग, विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षा तथा ब्यवसायिक परिषद, मेडिकल काउन्सिल, नर्सिङ्ग काउन्सिललगायतबाट चयन गर्ने ब्यवस्था छ ।