१९ बैशाख २०८१, बुधबार
Follow Us

सात वटै प्रदेशको पहिलो बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
२२ माघ २०७४, सोमबार १३:४६

काठमाडौ । सातवटै प्रदेशमा ऐतिहासिक पहिलो बैठक सम्पन्न भएका छन् । फरक–फरक दिनमा प्रदेश सभाको बैठक बसेपनि सबै प्रदेशसभाले सभामुख निर्वाचनको मिति तय गर्दै पहिलो बैठकबाट प्रदेशसभाले अन्तरिम कार्यविधि पारित गरेका छन् । प्रदेश नम्बर एकको पहिलो प्रदेश सभा बैठक सोमबार विराटनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । ज्येष्ठ सदस्य ओमप्रकाश सरागवीको अध्यक्षतामा भएको बैठकले सभामुख निर्वाचन मिति माघ उनान्तिस गतेलाई तय गरेको छ ।

पहिलो बैठकमा धारणा राख्ने सांसदले विकास निर्माणको एजेन्डालाई प्राथमिकतामा राख्दै अन्य प्रदेश भन्दा राम्रो बताउने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य मधेसवादी दलका सांसदहरुले अबको ध्यान प्रदेशको समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका हुन् । प्रदेश १ मा ९३ जना सांसद रहेका छन् । प्रदेश सभामा एमालेबाट ५१, कांग्रेस २१, माओवादी केन्द्र १६, संघीय समाजवादी फोरम ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक–एक जना सांसद छन् ।
प्रदेश नम्बर ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा सोमबार बसेको ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षमा प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गतेका लागि तय गरेको हो । पहिलो बैठकमा सांसदहरुले प्रदेश ४ लाई सम्बृद्ध प्रदेश बनाउन बाचा गरेका छन् ।

वाम गठबन्धनका सांसदहरुले भने चुनावी बाचा अनुसार स्थायी सरकार दिने पनि बताएका छन् । वाम गठबन्धनको बहुमत आएको चार नम्बर प्रदेशमा माओवादीको भागमा सभामुख र उपसभामुख एमालेले लिन सहमति भइसकेको छ । चार नम्बर प्रदेशमा एघार जिल्लाबाट छत्तिस जना प्रत्यक्ष र चौबिस जना समानुपातिक गरी साठी जना सांसद छन् ।मनाङ ख बाट निर्वाचित राजिव गुरुङले भने हालसम्म शपथ लिएका छैनन् ।

प्रदेश १ र ४ को बैठक बसेसँगै सात वटै प्रदेशको पहिलो चरणको बैठक सकिएका हुन् । प्रदेश २, ५, ६ र ७ को बैठक हिजो बसेको थियो भने ३ नम्बरको गत बिहीबार बसेको थियो । आजको बैठकसँगै सबै प्रदेश संघीयता अभ्यासको बाटोमा औपचारिक रुपमा प्रवेश गरेका छन् ।