१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली रेस्टुरेंटमा भाँडा माझ्दै युरोपियनहरू

नेपालब्रिटेन डट कम्
२२ माघ २०७४, सोमबार २२:३४

लन्डन । बेलायतका अधिकांश रेष्टुरेन्टको कमाइ शुक्रबार र शनिबार हुन्छ । ग्रेसरमा रहेको बेलिफ रेष्टुरेन्टका मालिक विष्णु खरेललाई विकेन्ड आउँन लाग्दा चिन्ताले सताउँछ । रेष्टुरेन्ट व्यस्त रहने दिन कामदार हिड्दिने हुनकी भन्ने चिन्ताले उनको मनमा स्थिर हुँदैन ।
किचेनमा काम गर्ने मजदुरको पारिश्रमिक हुवात्तै बढेको छ । उनीले कामको चिन्ता गर्दैनन् । उनीहरुमा खुट्टा भए जुत्ता जति पाइन्छ भन्ने मानसिकता छ । त्यही मानसिकताले गर्दा उनीहरु जुनसुकै बेला काम छाड्न सक्छन् ।
खरेलका अनुसार अहिले मालिकभन्दा मजदुर बलिया र सुरक्षित छन् । खरेलले भने, ‘अहिले नेपालीले रेष्टुरेस्टमा भाँडा माज्दैनन् । अधिकांश नेपालीले आफ्नो जीवन सहज पार्न रेष्टुरेन्टको विकल्पमा सुपरमार्केट, वज एजेन्सी, सेक्युरिटी, अस्पताल, हुलाकलगायतका क्षेत्रमा आफूलाई स्थानान्तरण गर्न थालेका छन् ।’
यसअघि नेपालीका लागि लोकप्रिय मानिएको रेष्टुरेन्टको जागिर बुल्गेरियन, हंग्रेरियन, पोलिस, रोमानियलगातय पूर्वयुुरोपियनहरुको आकर्षक बन्दैं गएको खरेलको ठम्याइ छ । अंग्रेजी भाषाको समेत कमजोरीले गर्दा उनीहरुले यो पेशा रोजेको हुनसक्ने खरेलले बताए ।
विदेश जानु भनेको पैसा कमाउनै हो भन्ने मानसिकता नेपालीमा छ । विदेश गएपछि दुःख गर्नुपर्छ र भाँडासमेत माझ्छन भन्ने मनोविज्ञान नेपालीहरुमा छ ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि मात्र सर्वसाधारणका लागि विदेश जाने ढोका खुलेको हो । सुरुका दिनमा भारतका विभिन्न शहरलाई रोजगारीको गन्तव्यका रुपमा लिने नेपालीका लागि राजनीतिक परिवर्तनसँगै विश्वका अन्य मुलुकमा रोजगारीका लागि अवसर खुल्ला भएका हुन् । मध्यपूर्व, युरोप, अमेरिका र अष्ट्रेलिया नेपालीको गन्तव्य हुन थालेको हो ।
विदेशको संस्कृति, रहनसहन र भाषाको कठिनाइले अधिकांश नेपालीहरुले रेष्टुरेन्टको किचन छिरेर भाँडा माझ्न थालेर प्रवासी जीवन सुरुवात गर्थे । खासगरी विद्यार्थी भीषा र गैरकानुनी रुपमा युरोप अमेरिका र अष्ट्रेलिया छिर्ने नेपालीहरुलाई पूर्णरुपमा काम गर्ने वैधानिक अधिकार नहुदाँ रेष्टुरेन्टमा लुकिछिपी भाँडा माझ्नुपर्ने बाध्यता थियो ।
सन् १९८० को दशमा बेलायत छिरेका अधिकांशले आफ्नो करियर रेष्टुरेन्टबाटै सुरु गरेका थिए । उनीहरु रेष्टुरेन्टको किचन पोटर हुदैं अहिले मिलिनियर हुन पुगेका छन् । धेरै रेष्टुरेन्टका मालिक बनेका छन् ।

सन् २००९ पछि आएको आर्थिक मन्दीमा बेलायतले विश्वभरका विद्यार्थीलाई भित्र्याएर आर्थिक अवस्था दरिलो पार्ने नीति लियो । बेलायतको आर्थिक मन्दीका बेला करिब २० हजार नेपाली विद्यार्थी बेलायत भित्रिए । आर्थिक मन्दीका कारण काम पाउन कठिन थियो । ती विद्यार्थीकोे हातमुख जोड्ने बाटो त्यही रेष्टुरेन्ट थियो । धेरैले भाँडा माझ्ने पेशा समाते । तर बेलायत सरकारको कडा अध्यागमनसम्वन्धी नीतिले विद्यार्थीहरु धेरै समय बेलायत टिक्न सकेनन् । रेष्टुरेन्टमा अध्यागमनले धावा बोल्न थालेपछि प्रायले आफ्नो गन्तव्य परिवर्तन गरेर यूरोपका अन्य शहरमा पलायन भए ।

नेपाली रेष्टुरेन्टमा काम गर्नेको अभाव हुन थाल्यो । अधिकांश नेपालीले भाँडा माँझ्न छाडे । १८ बर्षअघि रेष्टुरेन्ट व्यवसाय सुरु गरेका राजेश सिहंको अनुभव त्यस्तै छ । पहिले पहिले नेपालीहरु रेष्टुरेन्ट ४–५ वर्षसम्म भाँडा माझ्थे तर अहिले ४ महिना पनि टिक्दैन् ।
पहिला नेपालीहरुलाई अरु कम्पनीमा अवसर थिएन, भाषाको पनि समस्या थियो, तर अहिलेको पुस्ता धेरै अगाडि छन् । सकेसम्म रेष्टुरेन्टमा काम नै गर्न खोज्दैनन, गरी हाले पनि धेरै टिक्दैनन् सिहंले भने । विद्यार्थी भीषामा बेलायत भित्रिएका सिहंले आफ्नो विदेशी करियर रेष्टुरेन्ट व्यवसायबाटै सुरु गरेका हुन् । उनीसँग अहिले दुईवटा रेष्टुरेन्ट छन् ।
होली काउ समूहका ७ वटा शाखामध्य कुनै रेष्टुरेन्टमा नेपालीले भाँडा माझ्दैनन् । सञ्चालक मध्यका एक दधी आचार्यका अनुसार यसअघि नेपाली विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने किचन पोटार (किचन हेल्पर) को काम अहिले बेलायती र इटालिएनले लिएका छन् । पहिला धेरै नेपालीले भाँडा माँझ्ने काम गर्थे, तर अहिले सबैजनाले आफ्नो राम्रो पोजिसन पाएका छन् । आचार्यले भने प्रायः सबैजना नेपालीले अहिलो फ्रन्ट म्यानेजर र सुपरभाइजरको जिम्मेवारी समालेका छन् ।

समयको परिवर्तनसँगै पहिलो पुस्ताका नेपालीको समेत जीनवशैलीमा परिवर्तन आएको छ । उनीहरु ‘थ्री डी’ अर्थात डटी, डिफिकल्ट र डेन्जर (फोहरी, गाह्रो र खतरनाक) काम छोडेर ‘थ्री सी’ अर्थात क्लिन, क्यारियर र कर्मशियल तिर ध्यान दिएर मात्र रोजगारीको खोजि गर्छन ।