१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘सुमार्गीको सवा २ अर्ब रुपैयाँ चाहेको बेला निकाल्न देउ’

नेपालब्रिटेन डट कम्
२३ माघ २०७४, मंगलवार १३:१०

काठमाडौं । व्यवसायी अजेयराज सुमार्गीको राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब सवा २ अर्ब रुपैयाँ चाहेको बेला निकाल्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न दिन आदेश जारी गरेको हो ।
पैसा रोक्ने कानुनी आधार र कारण नदेखिएको भन्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । सन् २०१० जनवरीमा साइप्रसबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा आएको २ करोड १३ लाख अमेरिकी डलर रोकिएको थियो । उद्योग विभागले लगानीको स्रोत नखुलेको भन्दै २०६९ चैत २८ गते रोक्का गर्न भन्दै राष्ट्र बैंकलाई पत्र लेखेको थियो । सोही पत्र अनुसार बैंकले बाँकी निकासा रोकेको थियो ।
रकम रोकिँदा निवेदक सुमार्गीको उद्योगलाई क्षति पुग्न गइरहेको देखिएको भन्दै सर्वोच्चको आदेशमा उल्लेख हो । विदेशबाट ल्याउन लागेको करिब ४ अर्ब रुपैयाँ शंकास्पद भएको भन्दै नेपाल राष्ट्र बैंकले उक्त रकम रोक्का राखेको छ । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि फागुन २ गते बोलाएको छ।मंगलबार नै नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले रकम निकासा माग गर्दै रिट दर्ता गराएका थिए ।