१२ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

नेपालब्रिटेन डट कम्
२३ माघ २०७४, मंगलवार १३:३८

काठमाडौं । बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसद गरी २०५६ जना मतदाताले मतदान गर्नेछन् ।

संविधानको धारा ८६ को उपधारा २ र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ को दफा ३ को १ अनुसार निर्वाचनकमन्डलले दिएको मतको आधारमा एकल संक्रमणीय मतप्रणाली र बहुमतीय प्रणालीबाट प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना राष्ट्रियसभा सदस्यहरु निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८ जनामा ३ महिला, एक दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट तथा अरु ३ जना निर्वाचित हुनेछन् । संविधानमा व्यवस्था भएअनुसार ५९ सदस्यीय राष्ट्रियसभा हुने उल्लेख भएकाले ५६ जना निर्वाचनबाट र ३ जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।

तर, ५६ जनामध्ये २४ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले बुधबार ३२ जना राष्ट्रियसभा सदस्यका लागिमात्र निर्वाचन हुनेछ । ३२ सदस्यका लागि ५३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश नम्बर–२ मा भने निर्वाचन हुनेछैन । प्रदेश नम्बर–२ बाट निर्वाचित हुनुपर्ने ८ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले प्रदेश नम्बर–२ मा निर्वाचन नहुने भएको हो । प्रदेश नम्बर–१ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्वाचित भइसकेकाले अब दलित एक र अपांगता तथा अल्पसंख्यक समुदायबाट गरी जम्मा दुईजनाको लागिमात्र निर्वाचन हुनेछ ।

यस्तै, प्रदेश नम्बर–३ मा ८ ओटै पदका लागि निर्वाचन हुँदैछ । प्रदेश नम्बर–४ मा अपांगता भएका एकजना निर्विरोध भइसकेकाले ७ जनाको लागिमात्र निर्वाचन हुनेछ । प्रदेश नम्बर–५ मा महिला ३ पदमा निर्विरोध भइसकेकाले ५ सदस्यका लागिमात्र निर्वाचन हुनेछ । यस्तै, प्रदेश नम्बर–६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश नम्बर–७ मा महिला ३ र अन्य तीन गरी ६ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले अब दलित एक र अपांगता एक गरी जम्मा दुई सदस्यमा निर्वाचन हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै मतबदर नहुने गरी मतसंकेत गर्न आग्रह गरे । निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतगणना कार्य सुरु गर्ने जनाएको छ । राष्ट्रियसभा सदस्यको अन्तिम मतपरिणाम आएलगत्तै प्रतिनिधिसभातर्फको सम्पूर्ण मतपरिणाम फागुन पहिलो हप्ताभित्रै राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी छ । राष्ट्रियसभा गठन नहुँदा दुई महिनाअघि सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा हुन सकेको छैन ।