१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रतिबन्धित लागुऔषध र गुण्डागर्दीमा संलग्न व्यक्ति पक्राउ

sarusaru
२४ माघ २०७४, बुधबार ०५:००

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित लागुऔषधसहित तीन जना र एकजना गुण्डागर्दीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले सञ्चालन गरेको लागुऔषध नियन्त्रण तथा गुण्डागर्दी नियन्त्रण अभियानअन्तर्गत वडा प्रहरी कार्यालय नारायणगढले ती व्यक्तिहरुलाई पक्राउ गरेको हो । प्रहरीले कास्कीको पोखरा–लेखनाथ महानगरपालिका घर भएका ३० वर्षीय सूर्य गुरूङ, गोरखाको सहिद लखन गाउँपालिका घर भएका २४ वर्षीय मनोज भट्ट र चितवनको भरतपुर महानगरका १७ वर्षीय मञ्जील कुमाललाई लागुऔषधसहित नारायणगढबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले नाइट्राजेपाम ७२० ट्याबलेट, डाइजेपाम २९ एम्पुल, ब्रुफिनर्फिन २९ एम्पुल र फेनारगन २९ एम्पुल बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई लागुऔषध (नियन्त्रण) ऐन–२०३३ अन्तर्गत मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ढकालले बताए ।
यसैगरी नारायणगढको सब्जीमण्डीमा गुण्डागर्दी गर्ने गरेको गुनासोको आधारमा चितवनको भरतपुर निवासी ३२ वर्षीय विरू महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका महर्जनलाई सार्वजनिक अपराध र सजाय ऐनअन्तर्गत म्याद थप गरी कारबाही अगाडि बढाइएको प्रनाउ ढकालले बताए ।
– चितवन पोष्टबाट ।