१५ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार भेषधारी चोर प्रहरीको फन्दामा

sarusaru
२४ माघ २०७४, बुधबार १२:०९

काठमाडौं । पत्रकारको भेषमा विभिन्न कार्यक्रममा सहभागी भएर चोरी गर्ने व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।

फायर साइड डेल्लीको नाममा प्रेस कार्ड बनाइ विभिन्न कार्यक्रमहरुमा गएर चोरी गर्ने ललितपुरको गोदावरी–५ बस्दै आएका ५२ वर्षीय अशोक भनिने हरिशरण केसी छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार लगनखेलबाट पक्राउ गरेको हो ।

उनले काठमाडौंको जमलस्थित होटल एल्लो प्यागोडामा चार दिनअघि भएको बैंकरहरुको तालिममा गएर प्रशिक्षार्थी सम्झना ढकालको लेडिज ब्यागबाट नगद र मोबाइल चोरी गरेका थिए । प्रहरीका अनुसार उनले ढकालको ३२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

अनुसन्धानका क्रममा केसीले विभिन्न सञ्चारमाध्यमहरुमा गएर कार्यक्रमको बारेमा सोधपुछ गर्दै त्यहाँबाट ल्यापटप समेत चोरी गर्ने गरेको खुलेको छ ।

उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाइएको छ भने थप अनुसन्धान भइरहेको छ ।
– अनलाइन खबरबाट ।