१६ चैत्र २०८०, शुक्रबार
Follow Us

उपेन्द्र यादवलाई द्विविधा मुख्यमन्त्री कि सभामुख

sarusaru
२५ माघ २०७४, बिहीबार ०५:०५

काठमाडौं । प्रदेश २ मा सरकार गठनका लागि गृहकार्य गरिरहेका राजपा र फोरमवीच मुख्यमन्त्री र सभामुखको भागवण्डाबारे दुईवटा विकल्पमाथि छलफल भइरहेको छ । सम्भवतः यसबारे शुक्रबारसम्म टुंगो लाग्ने मधेसकेन्द्रित दलका नेताहरुले बताएका छन् ।

तीन दिनअघि भएको छलफलमा राजपाका नेताहरुले फोरम नेता उपेन्द्र यादवलाई मुख्यमन्त्री वा सभामुखमध्ये एउटा रोज्ने गरी दुईवटा प्याकेज प्रस्ताव दिएका छन् । यसबारे उपेन्द्र यादवले आफ्नो पार्टीभित्र छलफल गर्नुपर्छ भनेपछि गृहकार्यका लागि तीन दिन समय दिइएको नेताहरुले बताएका छन् ।

‘हामीले दुईवटा प्याकेज प्रस्ताव बनाएका छौं, तीमध्ये रोजेर लिन उपेन्द्रजीहरुलाई भनेका छौं,’ राजपाका नेता राजकिशोर यादवले अनलाइनखबरसँग भने, ‘यी प्रस्तावबारे पार्टीभित्र छलफल गर्न तीन दिन समय छुट्याइएको हो, शायद आज वा भोलि नै दुबै दलका नेताहरु बसेर यस विषयमा सहमति हुन्छ ।’

राजपा नेताहरुले अघि सारेका दुईवटा प्रस्तावमध्ये एउटामा मुख्यमन्त्री, उपसभामुख र केही मन्त्रालयहरु लिने भन्ने छ भने अर्कोमा सभामुख र ४ वटा मन्त्रालय लिने भन्ने छ ।

फोरमले मुख्यमन्त्री लिने हो भने राजपाले सभामुख र चारवटा प्रमुख मन्त्रालयहरु पाउनुपर्ने एउटा प्याकेज बनाइएको छ । त्यसैगरी राजपाले मुख्यमन्त्री, उपसभामुख लिने हो भने फोरमले सभामुख र ४ वटा महत्वपूर्ण मन्त्रालय पाउने राजपाको ‘अफर’ छ ।

राजपा नेता यादवले अनलाइनखबरसँग भने, ‘दुईमध्ये कुन रोज्ने हो, पहिले तपाईं रोज्नोस् भनेर हामीले उपेन्द्र यादवजीलाई भनेका छौं ।
– अनलाइन खबरबाट ।