१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ठेउलेखोला जलविद्युतको सम्पूर्ण काम सम्पन्न

sarusaru
२५ माघ २०७४, बिहीबार ०५:१७

जिल्लाको दक्षिणमा निर्माणधिन ठेउलेखोला जलबिद्युत आयोजनाको सम्पुर्ण काम सकिएको छ । साढे एक मेघावाट क्षमताको आयोजनाको सम्पूर्ण काम सकिएको निर्माण कम्पनीले जनाएको छ । आयोजना जैमिनी नगरपालिकाको कुश्मीसेरामा वि.सं. २०७० चैतमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको थियो । आयोजना निर्माणका क्रममा भारतीय नाकाबन्दी, विनासकारी भुकम्पका कारण नियमित काम अगाडि बढाउन नसक्दा दुई वर्ष ढिला गरी काम सकिएको हो । भौतिक संरचना, प्रशारण लाइन, मेसिनरी सामानको जडान गरी परीक्षण समेत गरिसकेकाले केही दिनपछि नियमित विद्युत उत्पादनको काम शुरु हुने आयोजनाका इन्जिनियर सूर्य अधिकारीले जानकारी दिए ।
२६ करोड ५० लाखको लागतमा निर्माण गर्ने गरी काम सुरु भएको आयोजनाको खर्च भने काम सम्पन्न भैसक्दासम्म ३३ करोडबाट उकालो लागेको छ । २०७० सालमा विद्युत आयोजना निर्माणको योजना बनाउँदा २६ करोड ५० लाख लागत अनुमान गरिएकोमा विनासकारी भुकम्प र नाकाबन्दीका बेला काम रोकिँदा काम गर्ने समय बढेको, नाकाबन्दीका बेला महंगो दरमा निर्माण सामाग्रीको मूल्य बढेकाले आयोजना निर्माण सम्पन्न गर्न ३३ करोडभन्दा बढी रकम खर्च लाग्ने अधिकारीले जानकारी दिए । बाराही हाइड्रोपावर प्रा.लि.ले निर्माणको जिम्मा लिएको उक्त आयोजनाले पावरहाउस निर्माण, सव–स्टेशन निर्माण, पाइपलाइन विच्छाउने काम लगायत प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआव्जा वितरण गर्ने काम सकिएको आयोजनाले जनाएको छ ।
‘आयोजना प्रभावित क्षेत्रमा जग्गा पर्नेहरुलाई करिब ९० करोड बढी मुआव्जा वितरण गरिसकेका छौं, अधिकारीले भने ‘केही जग्गामा मुआव्जा वितरणको काम बाँकी रहेकाले केही समयपछि सम्पन्न गरी नियमित विद्युत उत्पादनको काम अगाडि बढाउन योजना बनाएका छौं ।’ प्रभावित क्षेत्रका अधिकांश जग्गा धनीहरुको मुआव्जा बितरणको काम सकिएको भएपनि अति प्रभावीत एक घर र केही रोपनी जग्गाको बिषयमा कुरा नमिल्दा मुआव्जा बितरणको काम रोकिएको आयोजनाले जनाएको छ । स्थानिय सरोकारवाला र प्रभावित तथा आयोजनाका बीचमा छलफल गरेर छिट्टै कुरा टुंगो लगाउने र बिद्युत उत्पादनको काम सुरु हुने अधिकारीले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि जैमिनी नगरपालिका वडा नं. १ को कुश्मीसेरामा सव–स्टेशन निर्माण गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ ।
उक्त आयोजना निर्माणपछि बागलुङ नगरपालिकाको केही भाग, जैमिनी नगरपालिका र बेरङ गाउँपालिकामा विद्युत विस्तारमा सहजता हुने जनाइएको छ । सर्कुवा र कुश्मीसेराको सिमानामा बाँध, बिनामारेको मसिना पुल नजिकै पावर हाउस निर्माण र कुश्मीसेराको टुनीबोटमा प्रशारण लाईन तयार गरिएको छ । आयोजनाले कुश्मीशेरामा निर्माण गरेको बाँधदेखी पावरहाउससम्म पाईपलाईनमार्फत पानी पु¥याउने व्यवस्था मिलाएको इन्जिनियर अधिकारीले बताए ।
-ढोरपाटन दैनिकबाट ।