७ बैशाख २०८१, शुक्रबार
Follow Us

संसदले पूर्णता पाउँदा दलको अवस्था यस्तो हुन्छ

नेपालब्रिटेन डट कम्
२५ माघ २०७४, बिहीबार १४:३१

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै संघीय संसद निर्वाचनले पूर्णता पाएको छ । ३३४ सदस्यीय संघीय संसदमा सरकारका तर्फबाट राष्ट्रियसभामा मनोनीत हुने तीन सांसदको नाम चयन हुन बाँकी छ भने समानुपातिकतर्फका ११० सांसदहरुको नाम दलीय आधारमा सिफारिस हुन बाँकी छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा दलहरुले पाएको मत सार्वजनिक गरिसकेको छ ।

त्यस आधारमा समानुपातिकतर्फको ११० सदस्यमा नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले ६/६ सिट पाएका छन् । यस्तै, राष्ट्रियसभामा एमालेले २७, कांग्रेसले १३, माओवादीले १२ र राजपा र संघीय समाजवादी फोरमले २/२ सिट जितेका छन् । समग्रमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभामा एमालेको १४८ सिट भएको छ भने कांग्रेसको ७६, माओवादी केन्द्रको ६५, राजपाको १९ र फोरमको १८ सांसद हुनेछन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन् । संविधानअनुसार संघीय संसदमा कुनैपनि दलले जितेको कुल सांसदमा ३३ प्रतिशत महिला हुनुपर्छ । यदि प्रतिनिधिसभाको प्रत्यक्ष र राष्ट्रियसभाबाट पनि यो पूर्ति भएन भने प्रतिनिधिसभाको समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने व्यवस्था छ । त्यस आधारमा एमालेले समग्रमा संघीय संसदमा जितेको १४८ सिटको ३३ प्रतिशत महिला सांसद पुर्‍याउन ४९ जना सिट महिलाका लागि सुरक्षित गर्नुपर्ने हुन्छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेका दुई महिला विजयी भएका छन् भने राष्ट्रियसभामा ११ महिला आएका छन् । अब न्यूनतम् ३६ जना प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्छ । त्यसो गर्दा एमालेको समानुपातिकबाट पाँच पुरुषमात्र सांसद बन्नेछन् । माओवादी केन्द्रको प्रत्यक्षतर्फ र राष्ट्रियसभामा गरी ६ महिला विजयी भएका छन् । यो उसले जितेको कुल ६५ सिटको ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानको २१ प्रतिशतमात्र हो । अब माओवादीले समानुपातिकतर्फ पाउने १७ सांसदमध्ये ३३ प्रतिशत महिला पुर्‍याउन १५ जना चयन गर्नुपर्ने हुन्छ । बाँकी दुई सिटमामात्र पुरुषले मौका पाउने देखिन्छ ।

संघीय संसदमा कांग्रेसको ७६ सिट हुनेछ । संविधानअनुसार यसमा ३३ प्रतिशत अर्थात् २५ जना महिला हुनुपर्नेछ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसका एकजना पनि महिला छैनन् भने राष्ट्रियसभामा ६ जना आएका छन् । यसका लागि कांग्रेसले समानुपातिकतर्फ आफ्नो भागमा परेको ४० सिटमध्ये १९ सिट महिलाका लागि छुट्याउनुपर्नेछ । २१ जना पुरुष पठाउनसक्नेछ । राजपाले सबै ६ सिटमा महिला पठाउनुपर्नेछ भने फोरमले ६ मध्ये एक सिटमामात्र पुरुष पठाउन पाउनेछ ।