August 12, 2020
9:57 AM | 2:42 PM

चार जहाज उडाउन दुई जना पाइलट

  09/02/2018 मा प्रकाशित

काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले यसै महिनाभित्र ल्याउने वाई १२ सिरिजका दुई वटा जहाज उडाउन अहिलेसम्म पाइलट व्यवस्थापन गर्न सकेको छैन। यसअघि चीनबाट ल्याइएका दुई वटा जहाज पनि निमगसँग छन्।

नेपाल एयरलाइन्ससँग वाई १२ सिरिजका जहाज उडाउने दुई जना मात्रै पाइलट छन्। उनीहरूलाई सात जना कोपाइलटले सघाउँछन्। पाइलट अभावका कारण नयाँ जहाजले तत्काल उडान गर्न नसक्ने देखिएको छ। अहिले दुई वटा वाई १२ जहाज उडाइरहेका पाइलटलाई थप दुई जहाज उडाउने जिम्मावारी पनि थपिने भएको हो।

नेपाल एयरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले अहिले वाई १२ सिरिजका जहाज उडानका लागि दुई जना मात्रै पाइलट रहेको स्वीकारे। ‘नेपाल र चीनबीचको पुरानो सम्झौताका कारण पाइलट अभाव भए पनि जहाज ल्याउनैपर्ने वाध्यता छ’, उनले भने। नेवानिले पाइलटका लागि विज्ञापन पनि गरिसकेको छ।

चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेका वाई-१२ सिरिजका दुई वटा नयाँ विमान काठमाडौं आएसँगै नेवानिसँग चार वटा वाई-१२ जहाज हुनेछन् । अहिले रहेको दुई वटा जहाजमार्फत निगमले काठमाडौंबाट पोखरा, भैरहवा र सिमरामा उडान गर्दै आएको छ।

नेपालको दुर्गम क्षेत्रमा समेत उडान गर्न सकिने जहाज नेवानिको व्यवस्थापनले पाइलट अभाव हुँदा काठमाडौंलाई नै ‘बेस’ बनाएर पोखरा र भैरहवा उडान गर्दै आएको श्रेष्ठ स्वीकार गर्छन्। २०६९ सालमा नेपाल र चीनबीच ६ वटा जहाज ल्याउने सहमति भएको थियो । ६ जहाजमध्ये दुई वटा एमए ६० र चार वटा वाई १२ हो। त्यसमा दुई वटा अनुदान र चार वटा सहुलियत ऋणमा जहाज ल्याउने सहमति भएको थियो
– अन्नपूर्ण पोष्टबाट ।

प्रतिक्रिया