January 27, 2020

समानुपातिकमा ८४ महिला निर्वाचित हुने, नाम सिफारिस गर्न दलहरुलाई ३ दिन

  २६ माघ २०७४, शुक्रबार ०३:५५ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ दलहरुले प्राप्त गर्ने सिटहरुको बाँडफाँड गर्ने भएको छ । मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त मत परिणामअनुसार आयोगले सिट संख्या घोषणा गर्ने प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बतनाउनु भएको छ ।

उहाँले दलहरुलाई नाम सिफारिस गर्न तीन दिन समय दिने पनि जानकारी दिनु भएको छ । त्यसलाई सच्याउनु परे थप दुई दिनको समय दिइनेछ । प्रमुख आयुक्त यादवले आयोग फागुन २ गते राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाको प्रतिवेदन पेश गर्ने तयारी गरिरहेको बताउनु भएको छ ।

यसैबीच, प्रतिनिधिसभा समानुपातिकतर्फको १ सय १० सिटमा कम्तीमा ८४ जना महिला सिफारिस गर्नुपर्ने भएको छ । राष्ट्रियसभा निर्वाचन परिणाम सार्वजनिक भएसँगै संवैधानिक प्रावधानअनुसार एक तिहाइ पु-याउन समानुपातिकबाट चुन्नुपर्ने महिलाको संख्या यकिन भएको हो ।
तीन प्रतिशत मत कटाएका एमाले, कांग्रेस, माओवादी केन्द्र , संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)ले मात्रै समानुपातिकबाट सिट पाउनेछन् ।

समानुपातिकबाट एमालेले पाउने ४१ सिटमा कम्तीमा ३७ महिला पठाउनुपर्नेछ । यस्तै, कांग्रेसले पाउने ४० सिटमा २०, माओवादीको १७ सिटमा १६, फोरमले पाउने ६ सिटमा ५ र राजपाले पाउने सबै ६ सिटमा महिलाको नाम बन्दसूचीबाट पठाउनुपर्नेछ ।

प्रतिक्रिया