१५ चैत्र २०८०, बिहीबार
Follow Us

राष्ट्रियसभामा को–कसको नाम सिफारिस हुँदैछ ?

नेपालब्रिटेन डट कम्
२६ माघ २०७४, शुक्रबार १२:४१

काठमाडौं । सरकारले राष्ट्रियसभाका ३ सदस्य मनोनयनको गृहकार्य सुरु गरेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचित हुने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संबैधानिक व्यवस्था छ । बुधवार भएको निर्वाचनबाट ५६ सदस्य निर्वाचित भएपछि सरकारले तीन जनाको मनोनयन गर्ने तयारी थालेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले पनि सिफारिस गरिने ३ जनाबारे छलफल अगाडि बढाइसकेको र केही दिनमै राष्ट्रपतिलाई पत्राचार गरिने जनाएको छ । सरकारको तयारीअनुसार एक महिलासहित २ जना पुरुषलाई राष्ट्रपतिसमक्ष सिफारिसका लागि पठाइने भएको छ । महिलामा कमला पन्त वा अमुदा जोशीमध्ये एकजनालाई पठाउने तयारी भएको छ भने नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेल र झापाका गोपाल बस्नेतको नाम सिफारिसका लागि पठाइने नेपाली कांग्रेसको विश्वस्त स्रोतले नेपाल ब्रिटेन डट कमलाई बतायो ।

काम चलाउ सरकारले सिफारिस गर्ने कि नयाँले भन्नेमा विवाद छ । कानूनमन्त्री यज्ञबहादुर थापाले उक्त सिफारिस पनि निर्वाचनकै एउटा पाटो भएको र सबै निर्वाचन सकेको सरकारसँग राष्ट्रियसभालाई पूर्णता दिने जिम्मेवारी रहेको दावी गर्नुभयो । उता, नयाँ सरकारको नेतृत्व गर्ने वाम गठबन्धनले भने राष्ट्रियसभाका तीन सदस्य आउँदो सरकारले सिफारिस गर्ने बताउँदै आएको छ ।

एमाले महासचिव इश्वर पोखरेलले काम चलाउ सरकारलाई उक्त अधिकार नरहेको दावी गर्नुभयो । वर्तमान सरकारले नैतिकताका आधारमा उक्त निर्णय गर्ने अधिकार आगामी सरकारलाई दिनुपर्ने उहाँको तर्क छ । यस्तै, माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले पनि नयाँ जनादेश पाएको सरकारले नै राष्ट्रियसभालाई पूर्णता दिनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट पार्नुभयो ।