७ बैशाख २०८१, शुक्रबार
Follow Us

हत्याका दोषी गुरुङलाई भारतबाट नेपाल ल्याइयो

नेपालब्रिटेन डट कम्
२६ माघ २०७४, शुक्रबार १५:००

काठमाडौं । एक व्यक्तिको हत्यामा दोषी ठहरिएका अतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरी आज नेपाल ल्याइएको छ । विसं २०५८ मा ठमेलको एक डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले २०६४ साल पुस १ गते अभियुक्त गुरुङलाई जन्म कैद सजायको फैसला गरेको थियो ।

घटनापछि फरार रहेको गुरुङलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले गत मंसिर १२ गते रेडकर्नर नोटिस जारी गरेको थियो । गुरुङ गत मंसिर २२ गते भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जाने क्रममा भारतीय प्रहरीले पक्राउ गरी नयाँ दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो ।

सो अदालतको फैसला अनुरुप भारत सरकार, विदेश मन्त्रालयले गुरुङलाई नेपाल प्रहरीलाई बुझाएकाले भारतबाट नेपाल प्रहरीले उनलाई आज नेपाल ल्याएको प्रहरी प्रवक्ता नायब महानिरीक्षक मनोज न्यौपानले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पठाइने प्रहरीले जनाएको छ ।
नियन्त्रित लागुऔषधसहित युवक पक्राउ

यसैगरी काभ्रे पनौती नगरपालिका–८ का सुजन हुमागाईंलाई नियन्त्रित लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हुमागार्इंलाई कालीमाटीबाट बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनको साथबाट बुप्रेनोर्फिन ३५ एम्पुल, डाइजेपाम ३८ एम्पुल र फेनारगन ३६ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।