१६ चैत्र २०८०, शुक्रबार
Follow Us

के एनआरएन यूकेले जनअपेक्षा पुरा गर्ला ?

नेपालब्रिटेन डट कम्
२६ माघ २०७४, शुक्रबार १६:४१

धर्मराज अधिकारी
विश्वका ७७ भन्दा बढि देशमा सञ्जाल फैलिएको गैर आवासीय नेपाली संघको न्वारन आजभन्दा पन्ध्रबर्ष अघि बेलायतमा भएको थियो । स्थापनाकालदेखि यो पन्ध्रबर्षको अबधिमा एनआरएनले धेरै उकाली ओराली मात्र पार गरेको छैन, यसलाई स्वदेशबाट हेर्ने दृष्टिकोणपनि फरक-फरक छ । एनआरएनलाई जनताको संस्थाभन्दापनि नव धनाढ्यहरुको क्लवको रुपमा धेरैले चित्रित गरेका छन् । केहि हदसम्म यसमा सत्यता पनि छ, तर पछिल्लो पटक संस्थाप्रति देखिएको जनचासोलाई मात्र हेर्ने हो भने पनि पहिलो पुस्ताका नेपालीहरुले यसलाई आफ्नो संस्थाको रुपमा हेर्न थालेका छन् ।

सन् २००३ मा स्थापना भएको एनआरएनए युके २०१८को शुरुवातसंगै ईंङ्ल्याण्ड बाहिर जाने प्रयत्न गर्दैछ । यो १४ बर्षको अबधिमा बेलायतका नेपालीहरुले पहिलो पटक बृहत एनआरएनए युके देख्न पाउने भएका छन् । यसको शुरुवात नर्दन आयरल्याण्डबाट हुने प्राय निश्चित जस्तै भएको छ ।

एनआरएनए युकेको सन् २०१७ मा सम्पन्न निर्वाचनपछि अध्यक्ष योगकुमार फगामी नेतृत्वको कार्यसमितिले बेलायतका नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, र वेल्समा राज्य समन्वय परिषद् गठन गर्ने निर्णय गरेको थियो । यो निर्णय संगै एनआरएन युकेको उपस्थिति बेलायतभर हुनेछ ।

नर्दन आयरल्याण्डमा राज्य समन्वय परिषद् गठनका लागि एनआरएन आइसीसीका उपाध्यक्ष कुल आचार्य सहित एनआरएनए युकेको जम्बो टोली आइतबार नर्दन आयरल्याण्ड आउने भएको छ । यहांस्थित नेपालीहरुको साझा संस्था नेप्लिज कम्युनीटि नर्दन आयरल्याण्डको सहकार्यमा हुन लागेको सो कार्यक्रममा आइसीसी उपाध्यक्ष आचार्यले सहभागिता जनाउनेछन् । परिषद् गठन गर्नका लागि आवश्यक सबै तयारी पुरा भएको संस्थाका अध्यक्ष लीलाराम निउरेले जानकारी दिए ।

एनआरएनए युकेसंग यसअघिको छलफलमा नर्दन आयरल्याण्ड लगायतका अन्य समन्वय परिषद्हरुमा संयोजक, सहसंयोजक सहितको परिषद् गठन गर्ने सहमति भएको थियो । परिषद्को संयोजक एनआरएनए युकेको उपाध्यक्ष सरह हुने उनको बुझाई छ । एनआरएनए युकेको आगामी २०१९ मा हुने अधिबेशन पछि भने हरेक परिषद्लाई एक जना उपाध्यक्ष दिने निर्णय भएको अध्यक्ष निउरेले बताए ।

नर्दन आयरल्याण्डमा राज्य समन्वय परिषद् गठनका लागि सक्रिय रुपमा लागिपरेका सामाजिक अभियन्ता नारायण कंडेलले नर्दन आयरल्याण्डवासीले पहिलो पटक एनआरएनप्रति अपनत्व महशुस गर्ने अवसर प्राप्त हुन लागेको बताए । यस अवसरलाई नर्दन आयरल्यण्डवासीले उत्साहप्रद रुपमा लिएका छन् ।

कार्यक्रममा आइसीसी उपाध्यक्ष आचार्य सहित युके अध्यक्ष योग कुमार फगामी, उपाध्यक्ष पुनम गुरुङ, शेर बहादुर सुनार, शुशिला राई, ललीत न्यौपाने र प्रेम गाहा मगर, महासचिव राज कुमार त्रिपाठी, उपमहासचिव विनय अधकारी, कोषाध्यक्ष सचिन श्रेष्ठ, लगानी विभाग संयोजक गंगा राना, धार्मिक विभाग संयोजक होमनाथ पौडेल, सदस्यहरु राजन खकुरेल, शिव कंडेल लगायत सहभागि हुने भएका छन् । त्यस्तै एनआरएनए आयरल्याण्डका पदाधिकारीहरु समेत सहभागि हुने बताइएको छ ।

गैर आवासीय नेपाली संघ युकेलाई व्यवसायीहरुको झुण्ड भनेर लगाइने आरोप राज्य समन्वय परिषद्को विस्तारसंगै ओझेल पर्ने एनआरएनए युकेका महासचिव त्रिपाठीले ठोकुवा गरेका छन् । नर्दन आयरल्याण्डसंगै वेल्स र स्कटल्याण्डमा पनि परिषद् गठन गर्न एनआरएनए युकेले पहल गरिसकेको बताउंदै उनले भने, अबको दुईबर्षमा एनआरएनप्रति बेलायतवासी नेपालीहरुको अपनत्व बढ्छ ।

एनआरएनए युकेलाई बेलायतवाी नेपालीहरुको साझा संस्थाको रुपमा विकास र विस्तार गर्न कुनै कसर बांकी नराख्ने दावी गर्ने त्रिपाठीले भने, अध्यक्ष योग कुमार फगामी नेतृत्वको कार्यसमितिको मुख्य काम नै एनआरएन युकेलाई युकेवासी नेपालीहरुको साझसंस्था बनाउनु हो ।

बर्तमान कार्यसमितिले करीब तिनसय जना सल्लाहकार र विभिन्न समितिको नाममा सयौं युकेवासी नेपालीहरुलाई एनआरएन युकेको छाताभित्र आबद्ध गरेको छ । धेरैले यसलाई असहज मानेपनि संस्थाका महासचिव त्रिपाठीले आफ्नो बचाउ गर्दै संस्थालाई सबैको साझा संस्था बनाउन आफुहरुले जम्बो सल्लाहकार बनाएको जिकिर गरेका छन् ।