१२ बैशाख २०८१, बुधबार
Follow Us

सरकार संविधान कार्यान्वयनमा सफल : प्रम देउवा

नेपालब्रिटेन डट कम्
२७ माघ २०७४, शनिबार १४:००

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनमा पूर्णरुपमा सफल रहेको बताउनुभएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले संंविधान कार्यान्वयन गर्ने अभिभारा पूरा गरेको र अगामी दिनमा देशको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रसेका सभापति एवं प्रधानमन्त्री देउवाले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरी सङ्घीय गणतान्त्रिक संविधान कार्यान्वयन गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिममा देशकै सबैभन्दा बढी जलविद्युत् उत्पादन हुने क्षमता भएकाले यस क्षेत्रमा जलविद्युत्को प्रचूर विकास गर्न सबै पक्षको सहयोग आवश्यक भएको बताउनुभयो ।

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले ऊर्जा क्षेत्रबाट नै देशको विकास हुने बताउनुभयो । चमेलिया जलविद्युत् आयोजना ७ नं प्रदेशकै ऊर्जाको ढोका भएकाले अब यस क्षेत्रमा लगानी वृद्धि हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । सरकारी स्तरबाट प्रदेश नं ७ मा निर्माण सम्पन्न भएको यो पहिलो जलविद्युत् आयोजना हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको हो ।

निर्माण शुरु भएको झन्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन गरेको हो । जलविद्युत् आयोजनाको निर्माणसँगै स्थानीयमा विकास निर्माणदेखि रोजगारीमा ठूलो फाइदा पुगेको छ । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागत समेत बढेको हो । आयोजनाको दुईवटै युनिटबाट १५÷१५ गरी ३० मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

आयोजनाले दार्चुलाको बलाचबाट कैलालीको अत्तरियासम्म १३१ किलोमिटर लम्बाइको प्रसारण लाइनसमेत निर्माण गरेकाले यहाँको उत्पादन सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ  । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको यो आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लागत पुगेको छ । आयोजनाबाट वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन हुनेछ ।