१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पर्वतको स्कूलका लागि अस्ट्रेलियामा १० लाख जुट्यो

नेपालब्रिटेन डट कम्
२८ माघ २०७४, आईतवार १९:५९

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको पहिलो पुस्ताका डा. नारायण प्रधान पछिल्लो पुस्ताको निम्तो स्वीकार्दै जनवरी महिनाको अन्तिम आइतबार आयोजित एक परोपकारी उद्देश्यको रात्रिभोजमा समयमै श्रीमतीसहित आइपुगे । उनी आफ्नालागि तोकिएको ‘गोसाइँकुन्ड’मा कार्यक्रमभर हलचल नगरी बसे ।

भोजमा मात्रै सीमित थिएन यो कार्यक्रम । प्रसंग नेपालको प्रदेश नम्बर चारको पर्वत जिल्लामा भएको एउटा प्राथमिक बिद्यालयलाई सघाउन रकम संकलनको थियो । अस्ट्रेलियामा क्रियाशील पछिल्लो पुस्ताका युवाहरुको संस्था ‘भोइस फर मोटिभेसन’ले आयोजना गरेको यो कार्यक्रमको संयोजन निकै महत्वको थियो ।

नेपालका केहि जिल्ला र शहरहरुको नाममा टेबलहरु सजाइएका थिए । सहभागीहरुलाई आफ्नै देशको कुनै कुनामा पुगेको महसुस गराउन र गैरनेपालीलाई नेपाल पुगेको कल्पना गराउन हामीले टेबलहरुको नामाकरण गर्यौं, ‘कार्यक्रमका संयोजक बिजय पौडेलले अनलाइनखबरलाई भने, ‘जस्तैः पोखरा, मेची, महाकाली, वौद्ध, पर्वत, कञ्चनजंघा आदि ।’

कार्यक्रमलाई सहयोग गर्न र उनीहरुको परोपकारी कामलाई प्रोत्साहन गर्न मेलवर्नबाट गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने र केशव कँडेल तथा डार्विनबाट शम्भु कँडेल लगायतका नेपाली समुदायका नेताहरु पनि आइपुगे । अस्ट्रेलियाको न्यु साउथवेल्स राज्यको बेसाइड काउन्सिलका काउन्सिलर एन्ड्रु सोनिश भन्दै थिए- म आफै पनि आप्रवासी मुलको भएकाले नेपाली समुदायको कार्यक्रममा आउन रमाइलो लाग्छ ।

उनको भनाइमा अब नेपाली संस्कृति र समुदायबिना अस्ट्रेलियाको कल्पना गर्न सकिँदैन ।

‘पोखरा’ टेबलमा बसिरहेका सिड्नीको पेलिकानो होटेलमा काम गर्ने बरिस्ठ प्रशिक्षक भिन्सेन्ट र उनकी साथीले नेपाली समुदायको कार्यक्रममा रमाउँदै भने- निकै राम्रो ब्यवस्थापन ।

उनी भिन्सेन्टले केहि महिना अघि १८ जना नेपाली युवालाई बारको प्रशिक्षण दिएका थिए ।