१३ बैशाख २०८१, बिहीबार
Follow Us

मलेशियामा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न

नेपालब्रिटेन डट कम्
२९ माघ २०७४, सोमबार ००:१९

गत ४ फेब्रुवरी २०१८ का दिन मलेशियाको राजधानी क्वाललम्पुरमा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न भयो ।

विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखाको आयोजनामा उक्त कन्सर्ट सम्पन्न भएको हो । कवि स्मृतिले वहाका चर्चित एक दर्जन कविताहरु वाचन गर्नुभयो । कवि स्वप्निल कविता कन्सर्टकै निम्ति काठमाडौबाट क्वाललम्पुर पुग्नु भएको हो । कवि स्मृतिको बारेमा दिलदुखी जन्तरेले प्रकाश पार्नुभयो भने नेपाली राजदुतावास मलेशियाका द्धितिय सचिव विनोद मुखियाले प्रमुख अतिथिको रुपबाट शुभ कामना दिनुभयो ।

नेपाली राष्ट्रिय गाना लगतै रबि किरणको स्वागत मन्तब्यबाट शुरु भएको कन्सर्टलाई विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय सदस्य दिलिप राई सगर, एनआरएन मलेशियाका महासचिव सुन्दर आले, साहित्य महासङ्घका पूर्व केन्द्रीय पार्षद दीप दर्शन, नेपाल आदिवासी जनजाति महासङ्घ मलेशियाका उपाध्यक्ष ड्वाङनुरी शेर्पा, चौतारी साहित्यका डिल्ली छत्कुल्ली, योगेन्द्र काईराला, राम चौधरी, कृष्ण आङदेम्बे, दिल केरुङ, राज गिरी, राम रेप्चोङ लगायतले शुभ कामना मन्तब्य राख्नु भएको थियो ।

दोस्रो चरणमा कवि स्वप्निललाई प्रमुख अतिथि र सभाध्यक्ष कृष्ण भीरद्धारा सम्मानपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै गरि मलेशियामा रहेर अनवरत साहित्यमा योगदान पुरयाए वापत गजलकार दीप दर्शनलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई लाँलीगुराँस रेष्टुरेष्ट, सुम्निमा रेष्टुरेष्ट इपो, परदेशी रेष्टुरेष्ट, मण्डला रेष्टुरेष्ट, हर्वो प्रालिले प्रायोजन गरेका थिए भने आख्यानकार जीवन देवान गाँउलेले संचालन गर्नुभएको थियो ।