८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएको शक्तिशाली समितिमा लामिछाने

नेपालब्रिटेन डट कम्
२९ माघ २०७४, सोमबार २१:३७

लण्डन । गैरआवासीय नेपाली संघ भित्र अत्यन्त महत्वपूर्ण समिति मध्यको एक विद्यान व्याख्या समितिको संयोजकमा पूर्वअध्यक्ष जीवा लामिछाने चयन भएका छन् । लामिछानेलाई संघको आइतवार सम्पन्न केन्द्रिय समितिको बैठकले मनोनयन गरेको हो । संघको वैधानिक विवादमा समेत अन्तिम निर्णय दिन सक्ने अधिकार सहितको सो समितिको संयोजकमा यसअघि डा. कुलचन्द्र गौतम संयोजक रहेका थिए ।

समितिको अन्य सदस्यहरुमा संघका पूर्व प्रवक्ता डा. हेमराज शर्मा र कानुनविद्ध शीव रिजाल रहेका छन् । सो समितिको नेतृत्व संघको पूर्वअध्यक्षले लिएको यो पहिलो अवसर हो । यसै बीच गैरआवासीय नेपाली संघको विध्यमान विद्यानमा व्यापक हेरफेरको तयारी गरिएको छ । संघको विद्यानलाई पुनरावलोकन गर्न आगामि अक्टोवर महिनामा काठमाण्डौंमा विद्यान अधिवेशन गर्ने तयारी गरिएको संघले जनाएको छ ।

संघको आइतवार सम्पन्न बैठकले सो विद्यान अधिवेशनका प्रतिवेदन पेश गर्न डा. हेमराज शर्माको विद्यान मसयौदा समिति गठन गरेको छ । सो विद्यान अधिवेशनले संघको संरचना, निर्वाचन, सदस्यता लगायतको विषयमा व्यापक परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।