१५ बैशाख २०८१, शनिबार
Follow Us

पशुपति क्षेत्रमा महाशिवरात्रिको रौनक

sarusaru
१ फाल्गुन २०७४, मंगलवार ०४:०३

काठमाडौं : पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार दायाँबायाँ माग्नेहरूको लर्को छ । पश्चिमतर्फको प्रवेशद्वार मात्र होइन, दक्षिणतर्फ पार्किङ हुने क्षेत्रको दायाँबायाँ पनि साधुसन्त र माग्नेहरूको उस्तै ताँती छ । मन्दिरको पश्चिमदक्षिण कुनामा श्रीशक्ति महिला समूहको आयोजनामा विदूषी तारा घिमिरे श्रीमद्भागवतमहापुराण वाचन गरिरहेकी छन् । वनकाली र गौशाला प्रहरीतर्फ जाने सडकको दायाँबायाँ फूल र पूजा सामग्री बेच्ने र किन्नेको उत्तिकै घुइँचो छ ।

आर्यघाटतर्फ जाने बाटोछेउमा रहेको भस्मेश्वर अखडामा नागाबाबाहरूको एक हुल छ । अन्य समयमा साँझ सुनसान हुने पाशुपत क्षेत्र महाशिवरात्रिको अघिल्लो दिन सोमबार मेलाझैं सिँगारिएको छ । नागाबाबाको चर्तिकला हेर्नेको हुल बेलाबेलामा आइरहन्छ ।

ShivaRatri-eve–_-Pashupatinath_Uma-Bista_04

भारतको नयाँदिल्लीबाट पहिलो पटक पशुपति आएका ७० वर्षीय जयराम गिरी महाशिवरात्रिमा आफूले दिनेभन्दा बढी भोलेबाबाबाट लिने बताउँछन् । भस्मेश्वरमा भेटिएका नागा बाबाले आधा हिन्दी र आधा नेपाली मिसाएर अन्नपूर्णसँग भने, ‘पशुपति र नेपालीको महिमा सुनेको थिएँ । भोले बाबाको दर्शन र नेपालीको अच्छा व्यवहारले खुसी छु ।’

गोरखपुरबाट आएका हरिदास राम मन्दिरपरिसरमा चार दिनदेखि धुनी ताप्दै, खरानी घस्दै छन् । ७८ वर्षीय उनी सोमबार साँझ चुरोटमा गाँजा भरिरहेका थिए । ‘कसरी बेच्नुहुन्छ ? ’ भन्ने जिज्ञासामा उनले भने, ‘२० रुपैयाँ खिल्ली ।’ पशुपति क्षेत्र विकास कोषले पहिलो पटक यो शिवरात्रिदेखि पाशुपत क्षेत्रलाई गाँजा, भाङलगायत लागूपदार्थ निषेध क्षेत्र घोषणा गरिसकेको छ ।

यद्यपि यहाँ आएका जोगीले लुकाइलुकाई गाँजा तान्दै र बेच्दै गरेको पाइएको छ । गुह्येश्वरी जाने उकालो आसपासमा रहेका जोगी आफूले जानेका कला प्रस्तुत गर्दै थिए । युवायुवतीको समूह पनि बाबासँग झुम्मिदै आनन्द लिइरहेका थिए ।

ShivaRatri-eve–_-Pashupatinath_Uma-Bista_10

प्रवेश पासका कारण मंगलबार घुमफिरमा समस्या हुने भएकाले हजारौं भक्तजन सोमबार नै पाशुपत क्षेत्र पुगेका थिए । गतवर्ष महाशिवरात्रिका दिन आउँदा पासका कारण घुम्न नपाएको चाबहिलबाट आएकी रमा कार्कीले बताइन् । ‘अघिल्लै दिन उत्तिकै चहलपहल हुने भएपछि किन त्यही दिन आएर सास्ती खेप्नु ? ,’ उनले भनिन् ।

कोषले सम्पूर्ण तयारी पूरा गरिएको भने पनि पर्याप्त तयारी गर्ने नगरेको टिम्बर कर्पोरेसनका पूर्वकर्मचारी महेन्द्र घिमिरेले टिप्पणी गरे । ‘गाँजा निषेध भन्यो, श्लेषमान्तक वन र राम मन्दिर आसपासमा बिक्री भइरहेको छ’, उनले भने, ‘भारततिर यस्तो चाडपर्वमा सरकारको तयारी हेर्ने हो भने यो केही पनि होइन ।’ यहाँ जोगीले पर्याप्त धुनी ताप्न नपाएको र खानेबस्ने व्यवस्थासमेत उपयुक्त नरहेको उनको भनाइ छ ।

कोषले मंगलबारको महाशिवरात्रिमा चार हजार साधुसन्त र करिब १२ लाख भक्तजन आउने जानकारी दिएको छ । पशुपति दर्शन र पूजाअर्चनाका लागि पाँच लाइनको व्यवस्था गरेको छ । यसैगरी वनकालीस्थित हंसमण्डप र तिलगंगा क्षेत्रमा दर्शनार्थीलाई निःशुल्क आवास र भोजनको व्यवस्था मिलाइएको छ । स्वयंसेवी संघसंस्थाले निःशुल्क भोजनका लागि तिलगंगा, चार शिवालय दक्षिण, भण्डारखाल र सिफल चउरमा शिविरको व्यवस्था गरेका छन् ।

कोषले सोही क्षेत्रमै भजनकीर्तन र धार्मिक कार्यक्रम गर्न ठाउँ छुट्याएको छ । ठाउँठाउँमा डाक्टर, नर्स र एम्बुलेन्सको सुविधासहित स्वास्थ्य शिविर सञ्चालनमा छन् । साथै सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकासँग मिलेर घुम्ती शौचालय सञ्चालन गरिएको छ । कोषले दर्शनार्थीलाई समस्या परे वा आवश्यक जानकारी लिन १६१८०१२४३०५७५ डायल गरी नोटिस बोर्डमा सम्पर्क गर्न सकिने व्यवस्था पनि मिलाएको छ ।
-अन्नपूर्ण पोष्टबाट ।