७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनसेलको टावरमा बम विस्फोट

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७४, मंगलवार ०७:४१

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ । रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो ।

विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टावरमा भने केही नभएको उहाँले बताउनुभयो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो ।

प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको र सुरक्षागार्ड नराखेका कारण सुरक्षा समस्या देखिएको बताउनुभयो । घटनापछि आफूले पूर्वी क्षेत्रमा रहेका अधिकांश बिटिएस निरीक्षण गर्दा सुरक्षाको व्यवस्था सम्बन्धित कम्पनीले नगरेको पाइएको उहाँले बताउनुभयो ।