१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शिवरात्रिमा पशुपतिमा नागाबाबाको भीड किन ?

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७४, मंगलवार ०७:५१

काठमाडौं । प्रत्येक वर्ष शिवरात्रिमा पशुपतिमा नागाबाबा आउँछन् । ती नागाबाबालाई हेर्नेको पनि भीड लाग्छ । ती बाबाले अश्लीलता फैल्याए भन्दै सर्वोच्च अदालतमा रिट दायर पनि भएको छ । शिवरात्रिका अवसरमा पशुपतिमा नागाबाबा आउनैपर्ने धार्मिक एवं सांस्कृतिक मान्यता के छ ? के यसलाई निरन्तरता दिनैपर्ने हो वा हटाउन सकिन्छ ? भन्ने विषयमा बहस चल्ने गरेको छ ।

फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिनदेखि नागाबाबा पशुपति मन्दिरभित्र छिर्न पाउँछन् । फागुन कृष्णऔंसीका दिनपछि मन्दिरभित्र नागाबाबा बस्न पाउँदैनन् । नागाबाबा पशुपति मन्दिर छिर्नुअघि कपडा लगाएर छिर्नुपर्ने र निस्कँदा पनि कपडा लगाएरै बाहिरिनुपर्ने नियम रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डन बताउँछन् ।

‘नागाबाबा सनातन धर्मावलम्बीका सुरक्षा दस्ता हुन्, नागा भएपनि यिनमा कामुकता छैन । अरु छालाजस्तै हो, यिनका संवेदनशील अंग पनि, नागाबाबाले कसैलाई केही बाधा र नराम्रो गरेको सुनिएको छैन’–उनले भने ।

नागाबाबाका नाममा मोटरभित्र पहेंला कपडा लगाएर बीचमा एउटा नांगो मान्छे राखेर ठग्दै हिँड्नेदेखि बच्नुपर्ने डा. टण्डनको भनाइ छ । ‘आइतबार हेटौंडामा एक बाबाले नागा हुँ भन्दै चिया खान रु एक हजार मागे मैले दिएँ, पछि मुक्तिनाथ जाने खर्च मागे । बाबाले यसरी माग्दै हिँड्छन् भनेपछि पशुपति जान पेट्रोल हाल्न भने यस्ता मान्छेदेखि बच्नुपर्छ’–आफैंले भोगेको अनुभव सुनाउँदै उनले भने ।

शिवरात्रिमा धर्मका नाममा नागाबाबाबाट प्रदर्शन हुने अश्लीलता रोक्न माग गर्दै अधिवक्ता यज्ञमूर्ति न्यौपानेले आइतबार सर्वोच्चमा रिट दायर गरेका छन् ।
मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलगायतलाई विपक्षी बनाएर रिट दायर गरिएको हो ।

‘शिवरात्रिमा सीमापारबाट पैसा खर्च गरी नेपालमा नागाबाबा ल्याएर अश्लीलता प्रदर्शन गर्दा महिला तथा बालबालिकामा गम्भीर मानसिक असर पर्छ, यो नेपालको संविधानविपरीत कार्य भएको हुँदा रोक्नु जरुरी छ’–रिटमा उल्लेख छ । शिवरात्रिका अवसरमा भारतबाट नेपाल प्रवेश गर्ने नागाबाबालाई गुठी संस्थानले सीमाबाट नै सत्कारसहित पशुपति ल्याउने गरेको छ । प्राचीनकालदेखि सुरु भएको यो परम्परालाई जंगबहादुरका छोरा जगतजंगले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरी खर्चको व्यवस्था गरिदिएको संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डे बताउँछन् ।

‘सन्यास परम्परामा नागा दिगम्बर रुप धारण गर्नेको समूह हो, पशुपति पनि दिगम्बरस्वरुप भएको ज्योतिर्लिंग हो । यसैले प्रत्येक वर्ष दिगम्बर रुप धारण गरेका नागाले दिगम्बरस्वरुप भएको पशुपति ज्योतिर्लिंगमा साक्षात्कार गर्ने प्राचीन एवं अर्वाचीन परम्परा हो, यो परम्परालाई संस्थानले निरन्तरता दिइरहेको छ’–उनले भने ।

राणाकालमा नागाबाबा पैदल हिँडेर आउन सहज होस् भनी हेटौंडाको कर्राखोला, आर्यघाटको फलामेपुलसमेत निर्माण गरिएको संस्थानले जनाएको छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम जटा पाल्ने, रुद्राक्ष लगाउनेजस्तै नागाबाबा पनि शिव अवतारको एकरुप भएको बताउँछन् ।

संस्थानले २०६२ सालसम्म नागाबाबालाई लगाउन बाघ, मृग आदि वन्यजन्तुको छाला बाँड्थ्यो । वन्यजन्तु ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि (साइटीस)मा सरकारले हस्ताक्षर गरेपछि बाँड्न छोडिएको हो । त्यसअघि, वन्यजन्तुका छाला बाबालाई बाँड्न दरबारले उपलब्ध गराउने गरेको संस्थानले जनाएको छ । वि.सं. २०५८ देखि संस्थानले शिवरात्रिका अवसरमा गाँजा, चरेसलगायत लागुपदार्थ वितरण पनि बन्द गरेको थियो ।

शिवरात्रिका अवसरमा पशुपतिमा साधु–सन्तका नाममा अनेकथरि बाबा आउँछन् । गाँजा, भाङ, धतुरो, चरेसजस्ता लागुपदार्थको खुलारुपमा सेवन एवं बेचबिखन हुने गरेको छ । यस वर्षदेखि कोषले पशुपति क्षेत्रमा कुनै किसिमका लागुपदार्थ सेवन एवं बेचबिखन गर्न कडाइ गरेको छ । दैनिक सुरक्षागस्ती गरी लागुपदार्थ सेवन एवं बेचबिखन गर्नेलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।